मच्छे गुरुङ
नेपाली गीत संगीतको संरक्षण एवं अन्तराष्ट्रिय रुपमा प्रर्वद्धन गर्ने उद्धेस्यका साथ अमेरिकाको न्युयोर्कमा पहिलो पटक वल्र्ड नेपाली म्युजिक अर्वाड २०१९ कार्यक्रम सम्पन्न भयो । कार्यक्रम वल्र्ड कनेक्सन युएसए इन्क र फिदर क्रिएसन प्राइभेट लिमिटेड नेपालको संयुक्त आयोजनामा भएको थियो । विगत ६ महिनादेखिन गीत संगीतकर्मिहरु वीच निकै चर्चामा रहेको कार्यक्रम गत नोभेम्बर २३ तारिख सम्पन्न भएको थियो । न्युयोर्कस्थित लगोडिया प्लाजा होटलमा भएको कार्यक्रम अमेरिकाका लागी नेपालका राजदुत डा अर्जुन कार्की र धर्म गुरु स्याल्पा रिम्पोचेले संयुक्त रुपमा बत्ति बालेर उद्घघाटन गरेका थिए । नेपाल र अमेरिकाको राष्ट्रिय गानसंगै शुरु भएको कार्यक्रममा बिभिन्न विद्यामा उत्कृष्ठ कलाकारहरुलाइ म्युजिक अवार्ड दिएको थियो ।
नेपाली भाषा, कला र सहित्यको संरक्षणको लागी वल्ड नेपाली म्युजिक कार्यक्रमले विदेशमा नेपाल चिनाउनमा नेपाली गीत संगीतको प्रर्वद्धनमा विशेष मद्धत पुर्याएको भनी राजदुत डा कार्कीले खुसी व्यक्त गरेका थिए । त्यस्तै सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङले गीत संगीतको माध्यामबाट भावीपुस्ता माझ नेपाली भाषा कला साहित्यको संरक्षणमा यस किसिमको कार्यक्रमले धेरै मद्धत पुग्ने बताएका थिए । कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागी नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई, नेपाली कन्सुलेट न्युयोर्कका महावाणिज्यदूत पुष्पराज भट्टराई, वासिङटन राज्यका अबैतानिक बाणिज्यदुत एसि शेर्पा, एनआएएनए आइसीसीका उपाध्यक्ष सोनाम लामा, नेपालबाट आएका एसएसपि केवि ब्रम्हाचार्य लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रममा आयोजकले विगत ६ महिनादेखि भोटिङमा छानेर टपटेनमा छानेका बिजेताहरुले एसएमएस भोटिङबाट ४० प्रतिशत, निर्णयकबाट ३० प्रतिशत, फेसबुक भोटिङबाट २० प्रतिशत र अनलाइन भोटिङबाट १० प्रतिशत भोट प्राप्त गरेको मुल्यांकनको आधारमा उत्कृष्ठ विजेता घोषित भएका थिए । विजेताहरुलाई कलाकारहरुको प्रस्तुतीसंगै वल्ड नेपाली म्युजिक अवाड प्रदान गरेका थिए । कार्यक्रममा चर्चित कलाकारहरु अन्जु पन्त, यम बराल, शिव परियार,साहाना बज्राचार्य, क्यानाडाबाट आएका गायक मिङमा शेर्पा, गायिका रेश्मा सुनुवार लगायतले गीत प्रस्तुत गरेका थिए भने पार्वती राई, यसोदा खालिङ राई, केकी अधिकारी र दावा शेर्पाको समूहले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहयोग पुर्याउने व्यक्तित्वहरुसंगै बरिष्ठ गायिका सपनाश्री र न्हुच्छे ढंगोललाई आयोजकले सम्मान गरिएको थियो ।
आयोजकका अनुसार दर्शक तथा श्रोताहरुले दिएको भोटको आधारमा व्यवसायिक गीतकार र संगीतकार सम्मिलित निर्णयक टोलिले भोटका आधारमा टप तीनमा परेका गीत संगीतबीच ग्राण्ड फिनालेमा प्रतिस्पर्धा भएको हो । निर्णयक टोलिले यस अघि पाएको भोटको मुल्यांकनको आधारमा गत सेप्टेम्बर २९ मा विभिन्न १८ विधामा टप टेन घोषणा गरिएको थियो । टप टेनमा परेका गीत संगीतबाट एसएमएस भोटिङ, अनलाइन भोटिङ तथा जुरीको मुल्यांकनका आधारमा गत अक्टोबर २४ मा टप ३ छानिएको थियो । अवार्ड कार्यक्रमका लागि लोक दोहोरी, पप, आधुनिक तथा लोपोन्मुख विभिन्न भाषाभाषीका ७ सय ८२ जना गीत संगीतकर्मीले आवेदन दिएका थिए । त्यस मध्येबाट ५४ जनाले १८ विधामा प्रतिष्पर्धा भएको हो । गत जुन १३ मा पत्रकार सम्मेलन गरी वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९ को घोषणा नेपालमा गरिएको थियो । अवार्डका लागि गत जुन २१ देखि अगस्ट १३ सम्म आवेदन संकलन गरिएको थियो । आयोजकले अवार्ड कार्यक्रम सफल बनाउनका लागि विभिन्न संघ संस्थाका प्रतिनिधी सम्मिलित ३० सदस्यीय संयोजन समिति बनाएको थियो ।
यसपटक गीत संगित क्षेत्रका विभिन्न १८ बिधाका पहिलो, दोश्रो र तेश्रो ३, ३ जना गरी ५४ जनालाई अमेरिका ल्याउने तयारी गरे पनि अमेरिकी दुतावासले भिषा नदिएका कारण ४७ जना बिभिन्न क्षेत्रका कलाकारहरु कार्यक्रममा उपस्थित हुन नपाएको कार्यक्रमको कन्भेनर राजकुमार विष्टले बताए । उनका अनुसार कार्यक्रममा अमेरिकामै रहेका ५ जना र जापान र युरोपबाट आएका २ जना गरी ७ जना बिजेताले मात्रै प्रत्यक्ष अवार्ड थाप्न पाएका थिए । कार्यक्रममा गीत संगित क्षेत्रका बिभिन्न बिधाका उत्कृष्ठ १८ जनालाई लाई प्रत्यक्ष अवार्ड वितरण गर्ने तयारी गरे पनि सबै विजेताहरु कार्यक्रममा सहभागी हुन नपाएपछि आयोजकले उत्कृष्ट उपाधी विजेताहरुको पुरस्कार नेपालमा बिशेष कार्यक्रम गरी दिने घोषणा कार्यक्रममा नै गरिएको कन्भेनर बिष्टले बताए ।
वल्ड म्युजिक अवाड ककसले हात पारे ?
यस पटकको वल्ड नेपाली म्युजिक अवार्डको उत्कृष्ट गीत लेखन तर्फको उपाधी एभरेष्ट टाईम्सको सम्पादक एवं गीतकार ङिमा पाख्रिनले पाएका छन । लामो समयदेखि गीत संगीत र पत्रकारिता क्षेत्रमा आवद्ध गीतकार पाखि्रनको ‘ जिन्दगीको गोरेटो ‘गीतले उत्कृष्ट गीतकारको उपाधी पाएको हो । नेपाली गीत संगीत क्षेत्रलाई संरक्षण गरौ अन्तराष्ट्रिय स्तरमा प्रर्वद्धन गरौ भन्ने उद्धेस्यका साथ गत जुन महिनादेखि दर्शक र श्रोताहरुले भोटिङको आधारमा निर्णयकहरुको मुल्याङकनको आधारमा गीतकार पाखि्रनको यो गीत विजेता बनेको हो । पाख्रिनले यस अघि आधा दर्जन बढी गीतहरु लेखिसकेका छन ।
त्यसैगरी राष्ट्रिय गीत अन्र्तगत गायिका सत्यकला राईको ‘नसोध को तराइबासी’ बोलको गीत उत्कृष्ठ भएका थिए । त्यस्तै चलचित्र तर्फ गायिका अन्जु पन्तको ‘भिजिट भिषाले’, आधुनिक गीतको महिला गायनमा गायिका यसोदा खालिङ राईको ‘मायामा’ गीत उत्कृष्ट उपाधी हात पारेकी छन ।
त्यसैगरी पप गीत तर्फ गायक प्रमोद पोखरेलको ‘फर्की आउछु’, आधुनिक गीत अन्तरगत सिडि विजय अधिकारी, लोक तथा सेलो तर्फ रेस्मा बम्जन, लोपोन्मुख तर्फ युवराज मगरको ‘मायाली’, म्युजिक एरेन्जर तर्फ पविधन खालिङ राईको ‘नौ लाख किराती, म्युजिक कम्पोजरमा सुनिल मास्केको ‘धनले होइन मनले’ लोक दोहोरीको पुरुष गायन तर्फ गायक सन्दीप न्यौपानेको ‘लालुमाई’ र लोक दोहोरीको महिला गायनमा गायिका शर्मिला श्रेष्ठको ‘पुजा नगर मलाई’ ले उत्कृष्ट बिजेताको अवार्ड पाएका थिए । आधुनिक तथा पप गीतको महिला मोडल तर्फ रितु तामाङको ‘म त यस्तै’, आधुनिक तथा पप गीतको पुरुष मोडल तर्फ सरज गराचको ‘किन पल पल’, म्युजिक भिडियो निर्देशन तर्फ सौरव न्यौपानेको ‘तिम्रो रुपले’, लोक दोहोरी गीतको पुरुष मोडल तर्फ लोमेस शर्माको ‘मायाको झण्डा फरार’ र लोक दोहोरी गीतको महिला मोडल तर्फ अन्जु निरौलाको ‘ मायाको झण्डा फरार’ ले अवार्ड पाएका थिए । विभिन्न भाषाभाषीको गीतहरुमा खालिङ राई भाषाबाट प्रियङ्का खालिङ राईको ”झुङकेल्त्य’ गीतले पाएका थिए ।
अवार्ड कार्यक्रम संगीतिकमय बन्यो ।
बेलुकी ८ बजेदेखि उदघाटन, शुभकामना मन्तव्य र अवार्ड वितरणसंगै कलाकारहरुको बेजोड प्रस्तुतिले कार्यक्रम निकै रोमञ्चक बनेको थियो । मध्यरातसम्म हलमा ध्यानमग्न बसेका दर्शकहरु कलाकारहरुको प्रस्तुतीमा निकै रमाएका थिए । खचाखच भरिएको हलमा गायिका सत्यकला राई, अन्तु पन्त, रेश्मा सुनुवार, गायकहरु मिङमार शेर्पा र शिव परियार, यम बरालको गीतले सवैलाई मनोरञ्जन दिलाएका थिए । दर्शकहरुको मायाले नै आफुहरुले अमेरिकामा आएर गीत संगीतलाई प्रस्तुत गर्न पाएकोमा खुसी लागेको बताउदै आयोजक तथा दर्शकहरुलाई कलाकारहरुले धन्यवाद दिएका थिए । एक जमानामा युवाहरुको मुटुको ढुकढुकी बन्न सफल मिङमार शेर्पाले छमछम तिमी पाउजु बजाउदा बोलको गीत गाउदा सारा दर्शकले ताली बजाएर उनलाई साथ दिएका थिए । त्यस्तै चर्चित गायिका अन्जु पन्त र सत्यकला राईको विभिन्न चर्चित गीत गाउन माग गर्दै दर्शकहरुले पटक पटक वान्समोर भने पनि समय अभावका कारण दर्शकको अनुरोध गरे जति गीत भने गाउन पाएनन् । युवा मात्र नभएर सम्पूर्ण दर्शकको मन जित्न सफल गायक शिव परियारले बेहोस पछि होसमा आउदा क्या दामी भो भन्ने गीत प्रस्तुत गर्दा युवा तथा दर्शकहरु स्टेजमा नै गएर नाचेका थिए । गायक परियारको प्रस्तुतिले सबैलाई भरपुर मनोरञ्जन दिएका थिए । त्यस्तै कलाकारहरु यसोधा खालिङ, पार्वती राई र केकी अधिकारीको नृत्य देखेर सबै खुसी भएका थिए ।
‘ मलाई धेरै सुखद अनुभुती मिल्यो’ अध्यक्ष आङ गेलु शेर्पा
नेपाली गीत संगीतलाई संरक्षण र अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्द्धन तथा गीत संगीतकर्मीहरुको सम्मानको लागि अमेरिकामा पहिलो पटक वल्ड नेपाली म्युजिक अवार्ड कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न पाउदा खुसी अनुभुती भएको छ । यो कार्यक्रम गर्न सजिलो थिएन । निकै कठिनाइको वीच पनि सवैको साथ र सहयोगले यो कार्यक्रम सफलता भएको हो । यस किसिमको अवार्ड कार्यक्रमले नेपाली गीत संगीतकर्मीहरुलाई थप उर्जा दिन्छ भन्ने हामीलाई विश्वास लागेको छ । हामीले नेपाल र अमेरिका दुबैतिरबाट निस्पक्ष र निस्वार्थ र प्रतिस्पर्धाको आधारमा टप तीनमा परेकाहरुलाई निर्णयकहरुकै स्वविवेकको आधारमा छनौट गरियो । पहिलो पटक न्युयोर्कमा आयोजित कार्यक्रममा विशिष्ट व्यक्तिहरुसंगै राष्ट्रले चिनेका चर्चित कलाकारहरुलाई एकै मञ्चमा उभ्याएर यो कार्यक्रम गर्न पाउदा निकै मलाई निकै गर्व अनुभव भयो । कार्यक्रमकै दौडनमा अनेक विवादहरु नआएको होइन धेरै आएको थियो । यसको भावजुद पनि हामीले सही र सत्य रुपमा काम गरेर यो सफलता हात पारेको हो । यो कार्यक्रम त्यसै सफल भएको होइन हाम्रो टिमको सवै साथीहरुले गरेको मेहनेतले गर्दा सफल भएको हो । यस पटकको कार्यक्रम सफलतापछि अब हामी आगामी बर्ष यही समयमै गर्ने तर कुन देशमा गर्ने भन्ने बारेमा हामी सल्लाह गरिरहेका छौ । यस पटक कार्यक्रममा साथ दिनेहरु महासचिव दावा शेर्पा, कलाकार संयोजक छोङकर्मा शेर्पा , कन्भेनर राजकुमार विष्ट,कोकन्भेनर महेश खडका, र विष्णु राणामगर जी, नेपालमा रहेका ल्हाक्पा शेर्पा र सुरज राई लगायत टिमका सवै साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।