बागलुङ जीप दुर्घटनाका १४ मृतक मध्ये १० को परिचय खुल्यो

२०७६ मंसिर १७, मंगलवार ११:२३

बागलुङ–  बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप भीरबाट खस्दा १४ जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।

गुल्मीको इस्माबाट बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप मंगलबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको सनाखत भएको छ। मृत्यु हुनेमा गुल्मी इश्मा गाउँपालिका-५ का रेशम थापा, माया थापा, दोबाटा बसुन्धरा कार्की, सिता कार्की, भवि कार्की, भुमि कार्की, मिना बस्नेत, धनबहादुर कार्की, नवलपरासी बर्दघाथ नगरपालिका-१ बस्ने भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ की नरमाया खत्री रहेका छन्। मृतकको बुर्तिबाङ अस्पतालमै पोस्टमार्टम गरि शव बुझाइने प्रहरीले जनाएको छ।

मृत्यु हुने अन्य ४ जनाको सनाखत हुन सकेको छैन।

दुर्घटनामा गम्भीर घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका-२ का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका-४ का हिमाल कार्की र निमा केसी रहेका छन्।

उनीहरुको ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको र हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

दुर्घटनामा गुल्मी इश्मा गाउँपालिका-४ का १५ वर्षे धनबहादुर कार्की बेपत्ता भएका छन्। उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार