४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

दाहालले किन गरे चीन भ्रमण स्थगित ?



काठमाडौं— नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ ।

अध्यक्ष दाहाल नेतृत्वको ६० सदस्यीय टोली मंसिर २४ गते चीन भ्रमण जाने कार्यक्रम तय भएको थियो । एक साता अगाडि अचानक भ्रमण स्थगित भएको हो। अध्यक्ष दाहाल र नेपालका लागि कार्यवाहक चिनियाँ राजदूतबीच सोमबार भएको छलफलपछि भ्रमण स्थगित भएको दाहाल निकट स्रोतले जनाएको छ ।

दाहालले शुक्रबार नेपाल–चीन मिडिया फोरमले काठमाडौंमा गरेको कार्यक्रममा आफू चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा छिट्टै चीन जान लागेको जानकारी दिएका थिए । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला भएका सहमति कार्यान्वयनका लागि चीन भ्रमण सहयोगी बन्ने बताएका थिए।

भ्रमणका क्रममा अन्य नेता–कार्यकर्ताले चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालन, सरकार सञ्चालन लगायत विषयमा चिनियाँ नेताको अनुभव लिने कार्यक्रम थियो।

राजदूतसँगको भेटमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति र पार्टी सञ्चालनको जिम्मेवारीलाई मध्यनजर गर्दै तत्काल चीन भ्रमण उपयुक्त नभएको भन्दै पछाडि सार्नआग्रह गरेका थिए।

पार्टीका शीर्ष नेताहरुले पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई हेरेर भ्रमण स्थगित गर्न दाहाललाई सुझाव दिएका थिए। तय भएको भ्रमण स्थगित नगर्न चिनियाँ पक्षबाट दबाब आए पनि तत्काल भ्रमण गर्न हतार हुने निर्णयमा दाहाल पुगेपछि भ्रमण स्थगित भएको हो। भ्रमणको अर्को मिति भने टुंगो लागेको छैन।

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच असोज पहिलो साता उच्चस्तरीय भ्रमण आदानप्रदानसहितको ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त समझदारीपत्रमा दुई पार्टीका कार्यकर्ता तहको अध्ययन भ्रमण बढाउने, पार्टीको अनुभवमा आधारित सहयोग आदानप्रदान गर्ने लगायत उल्लेख गरिएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : ४२ बजे