१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बिदा नपाएको झोंकमा भारतीय प्रहरीले गरे ५ सहकर्मीको हत्या



रायपुर, भारत— भारत छत्तिसगढको नक्सलवादी प्रभावित क्षेत्रमा एक जना सुरक्षाकर्मीले घर जाने बिदा नपाएको झोंकमा ५ सहकर्मीको हत्या गरेका छन्। इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) का सुरक्षा जवान मसुदुल रहमानले क्याम्पभित्रै अन्धाधुन्ध गोली प्रहार गर्दा ती सुरक्षाकर्मी मारिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

नारायणपुर जिल्लाको कडेनारस्थित आईटीबीपीको ४५ औं बटालियन (क्याम्प) मा कार्यरत रहमानले एक वर्षदेखि घर बिदा पाएका थिएनन्। क्याम्पमा कार्यरत सहकर्मीको हत्यापछि उनले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्। घटनामा तीन सुरक्षाकर्मी घाइते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

पश्चिम बंगाल नदिया घर भएका रहमानले पछिल्लो समय डिसेम्बरको अन्तिम साताबाट बिदाका लागि आवेदन दिएका थिए। क्याम्पका प्रमुखले उनलाई बुधबार नै घर जानका लागि भनेका थिए। उनी भने डिसेम्बर अन्तिम साताबाट बिदामा बस्ने जनाएको सञ्चारमाध्यमले जनाएका छन्। क्याम्पका एक अधिकृतले भने, ‘आवश्यक परेमा थप बिदा स्वीकृत गर्ने आश्वासन दिइएको थियो। बुधबार नै गए बीचमा एकपटक आएर फेरि अन्तिम साता बिदा मिलाउन सकिने भनिएको थियो।’

एक प्रत्यक्षदर्शी सुरक्षा जवानका अनुसार रहमान आफूले मागेअनुसारको बिदा नपाएर निक्कै तनावमा देखिन्थे। ‘अझ रहमानको बिदालाई लिएर सहकर्मी जवानहरूले खिसी गर्दै हाँसोको पात्र बनाएपछि उनी थप तनावमा थिए,’ उनले भने। तनाव सहन नसकेर रहमानले सर्भिस राइफल एके–४७ बाट क्याम्पमा अन्धाधुन्ध गोली प्रहार गर्दा यो घटना भएको हुन सक्ने क्याम्पका अधिकारीले जनाएका छन्।

घटनामा दुई सिनियर हेड कन्स्टेबल, हेड कन्स्टेबलसहित ५ को मृत्यु भएको हो। घटनालगत्तै स्थानीय सुरक्षाकर्मीको टोली क्याम्प पुगेको छ भने आईटीबीपीले घटनाको जाँच आदेश दिएको छ। आईटीबीपी, भारतको पाँच केन्द्रीय सशस्त्र प्रहरी बलमध्ये एक हो। केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) कानुनअन्तर्गत सन् १९६२ को अक्टोबर २४ मा यसको स्थापना भएको हो।

सन् १९६२ मा चीन–भारत युद्धका बेला यसको आवश्यकता महसुस गरी भारत सरकारले यो प्रहरी बल खडा गरिएको थियो। पछि आईटीबीपीलाई विस्तार गरी तिब्बतसँग जोडिएको भारतीय सीमा क्षेत्रमा तैनाथ गरिएको छ। आईटीबीपीका ८९ हजार ४३२ कर्मचारीका लागि भारतीय सरकारले वार्षिक रुपमा ८० करोड अमेरिकी डलर खर्चिदै आएको छ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : ०७ बजे