- एभरेष्ट संवाददाता
न्यूयोर्क– प्रवासमा प्रमु्ख प्रतिपक्षी दल नेपाली कांंग्रेसको इकाईको रुपमा रहेको नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन पाँच वर्षदेखि हुन सकेको छैन । पार्टीले छ महिनाभित्र अधिबेशन गर्नू भनेर पत्र पठाएको महिनौ भइसके पनि अधिवेशन कहिले हुने भन्ने अझै अत्तोपत्तो छैन ।
पार्टीले पठाएको पत्रमा छ महिनाभित्रमा अधिवेशन गर्न निर्देशनसँगै विधान अनुसार क्रियाशील र साधारण सदस्यता वितरण गर्नु समेत भनिएको छ । पत्रको आशय अनुसार पार्टीको विधानमा विदेशी नागरिकता लिएका व्यक्तिले क्रियाशील सदस्यता नपाउनुको साथै नेतृत्वमा जान समेत प्रविधिक समस्या देखिएको छ । यसलाई पुर्नविचारको लागि जनसम्पर्क समिति अमेरिकाले पार्टीलाई पत्र पठाएको छ ।
आन्तरिक रुपमा एमालेको भातृ संगठनको रुपमा प्रवासमा खोलिएको प्रवासी नेपाली एकता मञ्च अहिले पार्टी संगठन नभइ सामाजिक संस्था भनेर चिनाउन थालिएको छ । पछिल्लो समय नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विदेशमा पार्टी संगठनको मान्यता नदिने घोषणा गरेपछि आन्तरिक रुपमा पार्टीको पक्षपोषण गरेपनि अहिले विदेशमा नेकपाको कुनै भातृ संगठन छैन ।
यता कांग्रेसको भने कुनै बेलाको विदेशस्थित भातृ संगठन र अहिले पार्टी इकाइको रुपमा रहेको नेपाली जनसम्पर्क समितिमा आपसी विवादका कारण लथालिंग अवस्था छ । यही बेला पार्टीले विदेशको नागरिकता लिएकालाई सक्रिय सदस्य र प्रतिनिधि हुन नदिने व्यवस्था विधानमा गरेपछि धेरैजसो चिन्तित बनेका छन् ।
प्रवासमा नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति नेपालका केन्द्रीय स्तरका नेताहरुको सिको गरेर गुटबन्दीमा रुमल्लिइरहेका छन् । केन्द्रीय नेताहरुको वेवास्ता र स्वार्थकै कारण प्रवासमा रहेको जनसम्पर्क समितिहरु लामो समयदेखि गुटबन्दी र अधिवेशन हुन नसक्नुको मुख्य कारण रहेको कांग्रेस निकटस्थहरु बताउँछन् ।
‘पार्टीले एक महिना अघि पठाएको पत्र अनुसार क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधि नेपाली नागरिक मात्र पठाउने भन्नेमा हामी पनि सहमत छौं । तर, अमेरिकाको कानुन अनुसार दर्ता भएको संस्थाको नेतृत्वमा कोही जान चाहन्छ भने त्यसमा खुल्ला गर्नुपर्छ कसैलाई रोक्नु हुँदैन र मिल्दैन’ जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले भने, ‘विदेशी भूमिमा दर्ता भएको जनसम्पर्क समितिको हकमा पार्टीले पुर्नविचार गरेन भने अब जनसम्पर्क समितिको कुनै औचित्य रहँदैन ।’
उनले मुलुकको कानुनमा परिवर्तनसँगै पार्टीको विधानमा परिवर्तन भएकोमा सकारत्मक रहेको उल्लेख गर्दै प्रवासी भूमिमा प्रवासकै कानुन अनुसार दर्ता भएको संस्थामा सबैलाई समेटनु आवश्यक रहेको बताए । ‘हाम्रो कुरा लेखेर पार्टीलाई पुर्नविचारको लागि पत्र पठाएको छौ’ अध्यक्ष विष्टले भने ।
उनका अनुसार पार्टीको विधान अनुसार यसअघि बनेका कतिपय क्रियाशील सदस्यहरुले अब नवीकरण गर्न नपाउनुको साथै नागरिकता हुनेले क्रियाशील सदस्य हुन पाइने छैन । पार्टीलाई पुर्नविचारको लागि पत्र पठाएको दुई हप्ता भइसकेपनि उपनिर्वाचनका कारणले उत्तर नआएको अध्यक्ष विष्टले बताए ।
उनले अमेरिकामा यस अघि ७ सय २९ जनाले क्रियाशील सदस्यता लिएका छन् । अब पार्टीको विधान अनुसार आधा भन्द बढिले नवीकरण गर्न पाउने छैनन् । अबदेखि पार्टीको सक्रिय सदस्य हुनका लागि पासपोर्ट र नागरिकताको फोटोकपिसमेत पठाउनु पर्ने व्यवस्था गरिएको छ । अमेरिकाको जस्तै विभिन्न १७ मुलुकमा रहेका जनसम्पर्क समितिहरुको पाँच वर्षदेखि अधिबेशन हुन सकेको छैन ।
‘पार्टीले अधिबेशन ६ महिनाभित्रमा गर्नु भनेर पत्र पठाइसकेपछि तयारी गरिसक्नु पर्ने हो किन ढिलाई गरेको होला बुझ्न सकिएन’ जनसम्पर्क समितिका पूर्व महाअधिबेशन संयोजक विष्णु सुवेदी भन्छन्, ‘पार्टीको विधि विधान अनुसार चाँडै अधिबेशन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
सुवेदी सन् २०१४ मा टेक्सासमा सम्पन्न एकताको महाअधिबेशनका संयोजक थिए । पूर्व संयोजक सुवेदीले अहिलेसम्म अधिबेशन हुन नसक्नुमा नेतृत्व दोषी भएको बताउँछन् । उनले ६ महिना भित्रमा जनसम्पर्क समितिको अधिबेशन गर्नु भनेर पार्टीले निर्णय गरि पत्र पठाएको तीन महिना हुन लागिसकेको छ ।
अध्यक्ष विष्टका अनुसार पाँच महिनाभित्र अधिबेशन गर्नुपर्छ । यदी ५ महिनाभित्रमा पनि अधिबेशन हुन नसके जनसम्पर्क समितिको हालत पनि नेविसंघकै जस्तो हुनेछ । पार्टीले पुर्नविचार गरेर पत्र पठाउने बित्तिकै मूल आयोजक समिति, निर्वाचन समिति, सदस्य छानविन समिति, आर्थिक समिति, प्रचारप्रसार समिति र विधान समिति बनाउने उनले बताए ।
क्यालिफोर्निया, बाल्टिमोर, टेक्सास, बोष्टन, मिचिगन, कोलोराडो र न्यूयोर्क च्याप्टरले महाधिवेशन गर्नका लागि रुची देखाए पनि कहाँ गर्ने भन्ने बारेमा टुंंगो नलागेको उनले बताए । सन् २००५ मा स्थापना भएको जनसम्पर्क समितिको आगामी अधिबेशनका लागि अध्यक्षमा बेद खरेल, विष्णु सुवेदी, मुनिन्द्र नेम्हाङ, धनञ्जयनरसिंह केसी, धर्म श्रेष्ठ र केशव बरालको नाम चर्चामा छन् ।
पार्टीको विधान अनुरुप अघि बढ्नु पर्छ : नेता प्रकाशमान
एक महिना अघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टी यो अवस्थामा पुग्नुको कारण नेतृत्वकै कमजोरीले भएको औल्याएका थिए ।
अब पार्टी ठीक ठाउँबाट ब्यवस्थित रुपले अघि लैजानु पर्ने चुनौति आइपरेको उनको भनाई थियो । ‘पार्टी नेतृत्वले अब पनि भइहल्छ नि चलिहाल्छ नि भन्ने सोच्न थालेमा पार्टी धेरै दिन टिक्नेवाला छैन’ उनले भने, ‘जनसम्पर्क समितिको बारेमा भइरहेको गन्थन विदेशमा मात्र नभई नेपालमा पनि भइरहेको छ ।’
उनले १३आैं महाधिबेशनबाट आएको नेतृत्वले पार्टीको विधानबाट निर्देशित काम कुराहरु नगरेको कारण पार्टी नै लथालिंग अवस्थामा रहेको उल्लेख गर्दै शुभेच्छुक भातृ संगठन जनसम्पर्क समितिको के कुरा गर्ने? भने । उनले भने, ‘पार्टीको विधान अनुसार अब जनसम्पर्क समिति अघि बढ्नु पर्छ ।’
अमेरिकाको कानुन अनुसार दर्ता भएको जनसम्पर्क समिति खुम्चिनु नहुने बरु अझ फराकिलो भएर अघि बढ्नुपर्ने उनको धारणा थियो । ‘अमेरिकामा खोलेको जनसम्पर्क समिति सृजनशील रुपमा अघि बढ्नु पर्छ’ उनले भने, ‘यो समितिभित्र बिपक्षीले गर्ने व्यवहार आफुभित्र गर्नु हुँदैन । सबै एक भएर अघि बढ्नु पर्छ ।’
नेता प्रकाशमान सिंहलाई पूर्व अधिबेशन संयोजक विष्णु सुवेदीले विहानको खाना र जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले वेलुकीको खानासँगै विदाई गरेका थिए । दुबै कार्यक्रममा नेता सिंहले जनसम्पर्क समितिले पाटीको विधान अनुरुप सबै मिलेर अघि बढ्न सल्लाह दिएका थिए ।