काठमाडाैं– सडक दुर्घटनाबाट मुलुकमा ५ वर्षयता करिब १२ हजार जनाको मृत्यु भएको छ । प्रहरी तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा सडक दुर्घटनाका कारण ११ हजार ७२४ नेपालीले ज्यान गुमाएका छन्।
आर्थिक वर्ष ०७१/०७२ मा २ हजार ४ जनाले ज्यान गुमाएका थिए । ०७२/०७३ मा दुर्घटनाबाट २ हजार ६ जनाको ज्यान गएको थियो । ०७३/०७४ मा दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८४, ०७४/०७५ मा २ हजार ५४१ जना, २०७५/०७६ मा २ हजार ७८९ जनाले ज्यान गुमाए। यो आवको कात्तिकसम्म सडक दुर्घटनामा ८ सय जनाको मृत्यु भइसकेको छ।
पछिल्लो समय हरेक वर्ष १३ हजार बढी दुर्घटना हुने गरेका छन्। आव ०७१/०७२ मा ९ हजार १४५ दुर्घटना भएका थिए भने यो संख्या बढेर ०७२/०७३ मा १० हजार १३, ०७३/०७४ मा १० हजार १७८, ०७४/०७५ मा १० हजार ९६५, ०७५/०७६ मा १३ हजार ३६६ दुर्घटना भएको प्रहरी तथ्यांक छ।
दुर्घटनामा प्रत्येक वर्ष ४ हजारभन्दा बढी मानिस गम्भीर घाइते हुने गरेका छन्। ०७१/०७२ मा ४ हजार ५३, ०७२/०७३ मा ४ हजार १८२, ०७३/०७४ मा ४ हजार २५०, ०७४/०७५ मा ४ हजार १४४, ०७५/०७६ मा ४ हजार ३७६ र ०७६/०७७ कात्तिकसम्म १ हजार ६९२ जना गम्भीर घाइते भएका छन्।
सबैभन्दा बढी दुर्घटना चालकको लापरबाहीले भएका छन्। पछिल्लो तीन वर्षका २५ हजार ८ सय ८८ दुर्घटनामा चालकको लापरबाही देखिएको छ। आव ०७३/०७४ मा ७ हजार ४८४, ०७४/०७५ मा ८ हजार ४६१ र ०७५/०७६ मा ९ हजार ९४० दुर्घटना चालकको लापरबाहीले भएको प्रहरीको तथ्यांक छ।
कमजोर तथा जथाभाबी खोलिएका सडकमा हुने तीव्र गतिले पनि दुर्घटना बढाएको देखिन्छ। पछिल्ला तीन वर्षमा तीव्र गतिका कारण करिब पाँच हजार सडक दुर्घटना भएका छन्।
सरकारले स्वास्थ्य, शिक्षा जतिकै यातायातलाई पनि प्रथामिकतामा नराख्दा दुर्घटना न्यूनीकरण नभएको यातायात व्यवसायीको धारणा छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले विभिन्न क्षेत्रमा लगानी बढिरहे पनि दुर्घटनामा कमि आउन सकेको छैन । सडक सुरक्षाको ढाँचा नबदलिएका कारण दुर्घटनामा कमी नआएको यातायात क्षेत्रका जानकारहरु बताउँछन्।