काठमाडौं– मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्ला १० दिनसम्म उत्पादन नहुने भएको छ। चल्ला उत्पादन गर्ने उद्योगीहरूको संस्था नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिको आयोजनामा भरतपुरमा भएको भेलाले यो निर्णय गरेको हो।
भरतपुरमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष टीकाराम पोखरेलले मागभन्दा उत्पादन बढी भएको र मूल्य पनि नआएका कारण यस्तो निर्णय गरेको बताए।
नेपालमा हाल प्रतिहप्ता ब्रोइलरका ४५ लाख र कलर ब्रोइलरका एक लाख ७० हजार चल्ला उत्पादन भइरहेको संघको तथ्यांक छ।
चल्ला उत्पादन नगर्ने भनेका कारण ह्याचरी मेसिनमा सेट गरिसकेका अण्डाहरू पनि शुक्रबारदेखि नै झिकेर नष्ट गरेको उनले दाबी गरे। १० दिनसम्म ६० लाख चल्ला उत्पादन हुने गर्दछ। यी चल्ला बजारमा जाने हो भने ३५ देखि ४० दिनपछि मासुका लागि कुखुरा तयार हुन्छन्। जसबाट १ करोड २० लाख केजी मासु उत्पादन हुने अध्यक्ष पोखरेलको भनाइ छ।
‘नेपालमा प्रतिहप्ता ३० देखि ३२ लाख गोटा चल्ला उत्पादन भए माग र आपूर्ति मिल्छ। उत्पादन ४५ लाखभन्दा धेरै छ। त्यसैले चल्लाको मूल्य सस्तो भयो। बजारमा धेरै चल्ला गएका कारण किसानले उत्पादन गरेको कुखुराको मूल्य पनि आएन,’ पोखरेलले भने। ह्याचरीले अहिले प्रतिगोटा ३० रुपैयाँमा चल्ला बेचेको छ। उत्पादन लागत नै ५० देखि ५५ रुपैयाँसम्म पर्ने उनले बताए।
त्यसैगरी तयारी कुखुराको मूल्य किसानले प्रतिकेजी १२० रुपैयाँदेखि १३० रुपैयाँसम्म पाएका छन्। उत्पादन लागत प्रतिकेजी १९० रुपैयाँसम्म पर्ने नेपाल कुखुरापालक किसान संघ केन्द्रीय समितिका अध्यक्ष झनकप्रसाद पौडेलले बताए। त्यसैले व्यवसायीले उचित मूल्य पाएका छैनन्। उपभोक्ताले मासुमा मनग्गे खर्च गरेका छन्।
ह्याचरीले १० दिन चल्ला उत्पादन रोक्दा लगभग दुई महिनापछि मासुको माग र कुखुराको संख्या मिल्न आउने आशाले यो निर्णय गरेको ह्याचरी उद्योग संघका अध्यक्ष पोखरेलले बताए।
तत्कालका लागि यो उपाय ल्याए पनि समस्याको दीर्घकालीन समाधानका लागि नेपालमा मासु खपतको अवस्था हेरेर चल्ला उत्पादनको अनुमति दिनुपर्ने व्यवस्था हुनुपर्ने उनले बताए । ‘विदेशका धेरै देशहरूमा मासु खपतको अवस्था हेरेर चल्ला उत्पादनको प्रबन्ध मिलाउने गरेको छ,’ उनले भने । कुखुरापालन क्षेत्रमा मौलाएको बिचौलिया प्रवृत्ति र दानाको मूल्य बढेका कारण किसान र ह्याचरी उद्योगीहरू मारमा परेको उनको भनाइ छ।
बिचौलियाको हालीमुहाली रोक्न सहकारीमार्फत बिक्री गर्ने योजना बनाउँदै छौं। कुखुरापालन क्षेत्रमा दानाको हिस्सा ८० प्रतिशत हुन्छ । अधिकांश दानाको कच्चा पदार्थ भारतबाट आउँछ । पहिला भन्सार नलाग्ने कच्चा पदार्थमा अहिले कर लाग्छ,’ अध्यक्ष पोखरेलले भने। यसको असर व्यवसायमा परेको छ । झन्डै सवा खर्ब रुपैयाँ लगानी भएको कुखुरापालन क्षेत्रलाई जोगाउन बेलैमा सरकारले सोच्नुपर्ने उनको आग्रह छ।