६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

कांग्रेस महाधिवेशन ०७७ फागुनमा गर्न देउवा सहमत, नेविसंघ र तरुण दलको मिलाउन बाँकी



काठमाडौँ – ०७७ फागुनमा कांग्रेस महाधिवेशन गर्ने गरी सभापति शेरबहादुर देउवाले कार्यतालिका बनाउने कसरत थालेका छन्। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने मंसिर मै महाधिवेशन गर्न प्रस्ताव गरेको छ।

यसअघि महाधिवेशनको कार्यतालिका एजेन्डामै नपारिएको भन्दै पौडेल पक्षले केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्दै आएको थियो। बिहीबार र आइतबारको बैठक बहिष्कार गरेको पौडेल पक्षले सोमबार पनि सहभागी नहुने जनाएपछि देउवाले बैठक स्थगित गरेर कार्यतालिकामा सहमति जुटाउने प्रयास थालेका हुन्।

सहमति जुटाउन सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएका छन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति देउवालाई भेटेर बहुमत, अल्पमत र बहिष्कारबाट पार्टीलाई क्षति मात्रै हुने र सहमतिकै लागि छलफल भइरहेको भन्दै सोमबार बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

देउवा र पाैडेल पक्षबीच मुख्य विवाद रहेको महाधिवेशनको कार्यतालिका र विभाग गठनको विषयमा करिब सहमति जुटेको छ । नेविसंघको तदर्थ समिति र तरुण दलको म्याद थप तथा कार्यसमिति विस्तारको विषयमा सहमति जुटाउन बाँकी छ।

उपसभापति निधि र विजयकुमार गच्छदारसहित केही केन्द्रीय सदस्यले पनि देउवालाई सहमतिका साथ अघि बढ्न सुझाव दिँदै आएका छन्। निधिले सहमतिका लागि पौडेल पक्षको वार्ता टोलीसँग भएको प्रगति विवरणसमेत देउवालाई सुनाएका थिए। त्यसपछि देउवाले केन्द्रीय कार्यसमिति बैठक बुधबार बोलाउने गरी स्थगित गरेका थिए।

नेविसंघ र तरुण दल विवाद
नेविसंघको तदर्थ समिति गठन गर्ने कि महाधिवेशनको तयारी समिति बनाउने भन्नेमा दुवै पक्षबीच विवाद छ। तोकिएको समयमा महाधिवेशन गर्न नसकेको भन्दै पार्टीको निर्देशनमा १० महिनाअघि तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका थिए। देउवा तदर्थ समिति र पौडेल महाधिवेशन तयारी समिति बनाउनुपर्ने अडानमा छन्।

तरुण दलको कार्यसमिति पनि विस्तारै नभई कात्तिकबाट कार्यकाल समाप्त भएको छ। दलले अधिवेशनका लागि भन्दै ६ महिनाको म्याद थप्ने प्रस्ताव पार्टी केन्द्रीय कार्यालयमा पठाएको छ। तर, दलभित्रको मुख्य विवाद महासचिव भूपेन्द्रजंग शाहीलाई निरन्तरता दिने कि नदिने भन्नेमा छ। पौडेल पक्षले शाहीलाई निरन्तरता दिन खोजेको छ तर देउवा मान्न तयार छैनन्।

विभाग बढाउने प्रस्ताव
देउवाले २८ वटा विभागलाई बढाएर ४१ पुर्‍याउने प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा राखेका छन्। संगठन, प्रचार, जनसम्पर्क र विदेश विभाग आफूले राखेर अन्य विभागमा ४० प्रतिशत पौडेल पक्षलाई दिन उनी तयार भएका छन्।

पार्टीभित्र तेस्रो समूहका रूपमा रहेको पूर्वमहामन्त्री सिटौला पक्षलाई कता राख्ने भन्ने निर्क्योल भइसकेको छैन। पौडेल पक्षले महत्त्वपूर्ण चारमध्ये एउटा विभागको नेतृत्व पाउनुपर्ने माग गर्दै आएको छ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ११ : २१ बजे