२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

यसरी हुँदैछ पूर्व–पश्चिम रेलमार्गको काम



काठमाडाैं— रेल विभागले पूर्व–पश्चिम १ हजार ३.८ किलोमिटर विद्युतीय रेलमार्ग १० वटा प्याकेजमा बाँडेर निर्माण काम सुरु गरेको छ।

झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९ सय २४.८ किमि र सुनसरीको खनारदेखि विराटनगर, बुटवलदेखि लुम्बिनी र कोहलपुरदेखि नेपालगन्जसम्म तीन वटा लिंक लाइन ७९ किमि सहित रेलमार्ग निर्माण थालेको हो।

रेलमार्ग निर्माणका लागि चालु आर्थिक वर्षको मंसिरको मूल्यांकनको आधारमा १० खर्ब ७४ अर्ब २७ करोड १४ लाख ९४ हजार रुपैयाँ अर्थ मन्त्रालयमा माग गरेको छ।

विभागले सरकारी लगानीमा बर्दिबास–निजगढ खण्डको ७० किमि रेलमार्गको ट्र्याक निर्माण सुरु गरेको छ। वर्दिबास–निजगढ खण्डको ३० किमि ट्र्याक निर्माण पूरा भइसकेको छ त्यसमाथि अब लिक ओछ्याउन मात्रै बाँकी छ । बाँकी ४० किमि खण्डमा पुल र ट्र्याक निर्माणको काम भइरहेको छ ।

इनरुवा–काँकडभिट्टासम्म १ सय २६.७ किलोमिटर, इनर्वा–बर्दिबास १ सय ३९.४ किमि, बर्दिबास–निजगढ ७० किमि, निजगढ–अमरपुरी १ सय ३६.४, अमरपुरी–तमसरियासम्म २१.२, तमसरिया–बुटबलसम्म १ सय ७.८ किमिको विस्तृत अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वीकृत गरिसकेको छ।

बुटबल–गड्डाचौकीसम्म ४ सय २.१ किमिको गत असारमा विस्तृत अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाइएको छ। बुटबलदेखि गड्डाचौकीसम्ममा बुटबल–लमही १ सय ५.९, लमही–कोहलपुर १ सय १३.७, कोहलपुर–सुक्खड ९३.४ र सुक्खड–गड्डाचौकी ८९.०८ किमि गरी चार खण्ड छ।

काम सुरु हुन बाँकी रहेका खण्डहरूमध्ये इनर्वा–बर्दिबास, निजगढ–अमरपुरी, बुटबलदेखि गड्डाचौकीसम्म चार वटै खण्डको वातावरणीय प्रभाव मूल्यांकन हुन बाँकी छ। अमरपुरी–तमसरिया र तमसरिया–बुटबल खण्डको वातावरण प्रभाव मूल्यांकन भइसकेको छ। सरकारले पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि लगानी जुटाउने प्रयास भइरहेको रेल विभागले जनाएको छ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  २ : ५१ बजे