सवारी ज्यान मुद्दामा गाउँपालिका अध्यक्ष १५ वर्षपछि पक्राउ

२०७६ पुष ६, आईतवार १३:४५

काठमाडाैं– बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका भेडिहरलाई आइतबार घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई आइतबारै अदालतमा हाजिरी गराई कैद सुजाय भुक्तानको लागि साँझ कारागार पठाइनेछ। अदालतबाट सजाय तोकिएर फरार भएकाको सूची हेर्दा भेडिहर पक्राउ परेका हुन्।

२०६१ सालमा भेडिहरले चलाएको मोटरसाइकल दुर्घटनाबाट एक वृद्धाको मृत्यु भएको थियो । उक्त घटनामा बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते दोषी ठहर गर्दै उनलाई २९ दिन कैद र २ हजार जरिवाना सजाय सुनाएको थियो। घटना भएको १५ वर्षसम्म उनी बाहिरै थिए। फौजदारी अपराधमा कसुरदार भएर पनि उनी चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

उनले विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट चुनाव जितेका थिए । उनलाई दोस्रो मधेस आन्दोलनका बेला वीरगन्जमा प्रदर्शनका क्रममा प्रहरीको गोली समेत लागेको थियो।

सम्बन्धित समाचार