काठमाडौं– सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । ९० भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै शनिबार बम विस्फोट भएको हो ।
प्रत्यक्षदर्शीहरूका अनुसार सडक निर्माणमा जुटिरहेका टर्किस इन्जिनियरहरू नजिकै विस्फोट भएको थियो । सोमालियाका विदेश मन्त्री अहमद अवाडले टि्वट गर्दै मारिनेमध्ये दुई टर्किस इन्जिनियर रहेको जनाएका छन् ।
आक्रमणकारीको निसानामा विद्यार्थीसमेत परेका छन् । बसमा यात्रा गरिरहेका बन्दिर युनिभर्सिटीका कम्तीमा १६ विद्यार्थी बम विस्फोटको शिकार बनेको जनाइएको छ ।
बिस्फोटमा घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।