दार्चुला– व्यास गाउँपालिका–१ पेल्सिती नजिकै महाकाली नदीमा भारतले अनुमति बिना नै काठेपुल बनाएको छ। महाकाली नदी नै प्रभावित हुने गरी भीर कटान गरेर सडक बनाउने कामलाई पनि तीव्र पारेको छ। सीमा क्षेत्रमा संचरना बनाउँदा दुवै देशको सहमति अनिवार्य हुन्छ । भारतले नेपाली पक्षलाई जानकारी नै नगराई फेरि पुल राखेको हो ।
चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको हो। पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूपमा संरचना बनाएको हो ।
चिसोका कारण यतिबेला व्यास गाउँपालिका–२ दुम्लिङभन्दा माथि बासिन्दा बेंसीतिर झरिसकेका छन्।
दुई वर्षअघि पनि यस्तै मौकामा भारतले नेपालको उक्त क्षेत्रमा काठेपुल बनाएको थियो। अहिले पनि स्थानीय बासिन्दा तल झरेको र हिमपात भएको मौका छोपेर उनीहरूले काठेपुल बनाएको हो।
अहिले त्यहाँ नेपालको सुरक्षा उपस्थिति पनि छैन। व्यासमा सुरक्षा दिइरहेको नेपाल प्रहरी चिसो सहन नसकेर दुम्लिङ झरेको एक महिना पनि पुगेको छैन। प्रहरी मंसिर तेस्रो साता दुम्लिङसम्म गएको थियो।
चार/पाँच दिनअघि व्यास क्षेत्र जाने बाटो निर्माणको सर्भे गर्न गएको टोलीका प्रतिनिधिहरू भारतीय पक्षले निर्माण गरेको पुल भएरै नेपाल–भारत आवतजावत गरेका हुन्। नदीको वारिपारि ठूल्ठूला ढुंगाहरूले पानी नै देखिँदैन। भारतीय सडककै कारण महाकालीको सतह खुम्चिँदै गएको छ, नेपालतर्फ कटान भएको छ। धेरै ठाउँमा नदीले कटान गरेपछि व्यास जोड्ने घोरेटो बाटो पनि भत्किएको छ। त्यस ठाउँमा पुल बनाइएको बारे नेपाली पक्षलाई कुनै जानकारी छैन।
भारतले सन् २०२० भित्र लिपुलेकबाट तिब्बतसम्म पुर्याउन आफ्नो सीमातर्फ ठाउँठाउँमा सडक निर्माण गरिरहेको छ। भीर भएको क्षेत्रमा दुवैतिर कटान गरेर सडक निर्माण तीव्र गतिमा बढाइरहेको व्यासका स्थानीय बताउँछन्। काठे पुल राखेको बारे जिल्ला प्रशासन कार्यालयले कुनै जानकारी नपाएको जनाएको छ ।