काठमाडौं । नेपाल भ्रमण वर्षको औपचारिक रुपमा बुधबार दशरथ रंगशालामा उद्घाटन गरिएको छ । दिउँसो चार बजेदेखि रङ्गशालामा भ्रमण वर्षको उद्घाटन हुने भनेपछि सर्वसाधारण त्यसअगावै नै रङ्गाशाला पुगेका थिए । उद्घाटन सत्र साँझ ८ः३० बजेसम्म भएको थियो ।
राष्ट्रपति भण्डारीले एकताको दिपज्योति प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गरेकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनपछि राष्ट्रिय गीतबाट कार्यक्रम शुरु गरिएको थियो । नेपाली सेनाका टुकडीले देशभक्तिको गीत गाउनुको साथै मञ्च अगाडि नेपाल भ्रमण वर्ष–२०२० को छोटकरी रूप ‘भि एन वाई’ चित्र बनाएका थिए ।
समारोहमा हिन्दू, बौद्ध, मुस्लिम, जैन, इसाइ, शिख समुदायले आ–आफ्ना पाठ पढेर नेपालमा विभिन्न समुदाय रहन्छन् भन्ने सन्देश दिएका थिए । हिन्दूले शङ्खध्वनी बजाउनुको साथै वैदिक स्वस्ति पाठवाचन गरेका थिए । वौद्ध धर्मालम्बीले बौद्धसम्बन्धी पाठवाचन गरेका थिए । कार्यक्रममा १०८ बटुक र १०८ बौद्धधर्मालम्बीले उक्त पाठवाचन गरेका थिए ।
त्यसपछि नायक राजेश हमाल मञ्चमा पुगेर सम्बोधन गरेका िथए । हमालले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक रहेको र पर्यटकको आकर्षक गन्तव्य रहेकाले विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रह गरेका िथए ।
त्यसपछि पर्यटन व्यवसायी र विभिन्न सङ्घ संस्थाको झाँकी प्रदर्शन गरिएको थियो । पर्यटन व्यवसायीले पर्यटनसम्बन्धी सामग्री बोकेर झाँकी प्रदर्शन गरेका थिए । करिब एक घण्टा विभिन्न जातजाति, भाषा संस्कृतिका झाँकी प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा नेपाल घुम्न आउन सबै पर्यटकलाई निम्तो दिँदै आर्थिक विकासको आधार पर्यटनलाई बनाउने प्रतिबद्धता व्यक्त गरे । सोही समारोहमा भ्रमण वर्षको मस्कट ‘यति’को प्रदर्शन गरियो ।
समारोहमा उपस्थित दर्शकले भ्रमण वर्षको मस्टक यति अभिरुचिपूर्वक अवलोकन गरेका थिए । उनीहरु यतिको अगाडि बसेर फोटो खिचाउन व्यस्त थिए । भ्रमण वर्षको लोगो अङ्कित ब्यानर चार वटा नेपाली सेनाको हेलिकप्टरबाट प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेता र सातवटै प्रदेशमा मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको भिडियो सन्देश देखाइएको थियो । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले भ्रमण वर्षको शुमकामना दिँदै सफल पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी सातैवटै प्रदेशमा मुख्यमन्त्रीले आफ्नो प्रदेशको पर्यटकीय क्षेत्रबारे जानकारी गराउँदै भ्रमण वर्ष सफल बनाउन आग्रह गरे । समारोहमा विदेशबाट आएका पर्यटन मन्त्रीहरुले पनि सम्बोधन गरेका थिए ।
उनीहरुले भ्रमण वर्षमा आफ्नो मुलुकबाट बढिभन्दा बढी पर्यटक पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए । रङ्गशालाको बीचमा रहेको मञ्चमा देखिने स्क्रीनमा नेपालका विभिन्न पर्यटकीय गन्तव्य, विभिन्न सङ्गीत ब्याण्ड तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको गीत र नृत्य प्रस्तुति गरेका थिए ।