५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

न्युयोर्कमा मौलिक नृत्यसँगै तमु परिवारको ल्होछार



न्युयोर्क– न्युयोर्कवासी गुरुङ तमु परिवारले विगत वर्षहरु झैं यस पटक महान् पर्व तमु ल्होछार मनाएको छ । हरेक पुस १५ लाई नयाँ वर्ष (ल्होछार) को रुपमा मनाउँदै आएका गुरुङ समुदायले यस पटक ‘फो ल्हो’ अर्थात् मृग वर्गको बिदाइ गर्दै ‘च्यु ल्हो’ अर्थात् मुसा वर्गको स्वागत गरेका हुन् । उडसाइडस्थित तिब्बेतीयन कम्युनिटी सेन्टरमा आयोजित ल्होछार कार्यक्रम बुद्धको प्रतिमामा दिप प्रज्ज्वलन गरी उद्घाटन भएको थियो ।

संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा राजदूत डा. कार्कीले प्रवासमा नेपालको मौलिक कला संस्कृति जर्गेना गर्न र नेपाल चिनाउन मौलिक पर्व ल्होछारले सहयोग पुर्‌याएको बताए । त्यस्तै विशेष अतिथिको रुपमा उपस्थित खेलाडी एवं नायिका सिपोरा गुरुङले विदेशमा आफ्नो कला संस्कृति र पहिचान झल्कने ल्होछार कार्यक्रमले नेपालको याद दिलाएको बताइन् ।

 

पहिलो चरणको कार्यक्रम उद्घाटनसँगै शुभकामना मन्तव्यमा सीमित भएको थियो भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा कलाकारहरुले गुरुङ जातिको मौलिक संस्कृति झल्कने घाटु, रोधी लगायतका गुरुङ भाषाको लोकगीत तथा नृत्यहरु प्रस्तृत गरेका थिए ।

कार्यक्रममा तमु परिवारका अध्यक्ष मनिता गुरुङले तमु (गुरुङ) समुदायको मौलिक कला संस्कृतिलाई भावी पुस्तामाझ जोगाइ राख्नका लागि प्रवासमा निरन्तर रुपमा ल्होछार मनाउँदै आएको बताइन् । ल्होछार कार्यक्रममा सहयोगीहरुले २० हजार डलर रकम सहयोग गरेका थिए । सहसचिव देवजंग गुरुङले सञ्चालन गरेको कार्यक्रममा सचिव जेवी गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । दोस्रो चरणको सांस्कृतिक कार्यक्रम माया गुरुङ र पूर्ण गुरुङले सञ्चालन गरेका थिए ।

तस्विर फोटोहेरा डटकम

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ६ : ४७ बजे