३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

अष्ट्रेलियामा डढेलोले मरे ५० करोड पशुपंक्षी



एजेन्सी– अस्ट्रेलिया डढेलोका कारण अहिलेसम्म करिब पचास करोड पशुपंक्षी जलेर मरेका छन्। तीन महिनादेखि लागेको डढेलोका कारण सयौं घरबारविहीन भएका छन्।

गाइवस्तुसँगै जंगलमा रहेका हजारौं कंगारू तथा अन्य जनावर डढेलोले सखाप बनाएको तथ्य सार्वजनिक भएको छ। जसमा कीरा फट्यांग्रा बाहेक चराचुरुङ्गी समेत जोडेर ४९ करोड पशुपंक्षी आगलागीमा परेर मरेका छन्।

युनिभर्सिटी अफ सिड्नीका जैविक विविधता विज्ञ प्राध्यापक क्रिस डिकम्यानले बिबिसीलाई ४९ करोड पशुपंक्षी मारिएको तथ्यांक दिएका छन्।

अहिले पनि न्यु साउथवेल्स राज्यको एक सय ४६ स्थानमा डढेलो लागिरहेको छ । कैयाैं बस्तीहरु आगलागीका कारण सखाप भएका छन्। डढेलो र धुवाँले अस्ट्रेलियाकै वातावरण बिग्रिएको छ।

अहिले राजधानी क्यानबेरा, सिड्नी, मेलवर्नजस्ता सहरको हावा निकै प्रदुषित रहेको विशेषज्ञले बताएका छन्। यो डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको छ।

आगलागीकै कारण २३ जना अस्ट्रेलियानले ज्यान गुमाइसकेका छन् भने दुई हजार ६ सय घरहरु नष्ट भएका छन्। अझै धेरै स्थानमा यसको प्रभाव पर्ने क्रम जारी छ।

सरकारले दुई पटक संकटकाल समेत घोषणा गरेर डढेलो नियन्त्रणको प्रयास गरेको थियो। सरकारले अग्नि नियन्त्रकसँगै सेना समेत परिचालन गरेको छ । अहिलेसम्म डढेलो नियन्त्रणमा भने आउन सकेको छैन।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १० : ४५ बजे