अवैध उत्खननको विरोध गर्ने युवकको टिपरले किचेर हत्या, हवाइ फायर गरेर प्रहरीले राजमार्ग खोल्यो

२०७६ पुष २५, शुक्रबार १३:३०

धनुषा– खोला उत्खनन्‌को विरोध गर्न पुगेका एक युवकको टिपरले किचेर हत्या गरिएको छ।

शुक्रबार बिहान मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोको ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको हो।

बिहान मर्निङवाक गएका समयमा महतोको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको थियो। महतोले विरोध गर्दा टिपरले किचेर उनको हत्या गरेको स्थानीयले बताएका छन्।

घटनाको प्रकृति हेर्दा टिपरले किचेर हत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए।

घटनापछि स्थानीयले हत्याको विरोधमा सडक अवरुद्ध पारेर प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका स्थानीयमाथि हवाई फायर गरी प्रहरीले राजमार्ग खुलाएको छ ।

आफूहरुसँग सल्लाह नगरी र मुचुल्का नगरी शव उठाएको भन्दै मृतकका परिवारले शवको पोस्टमार्टम गर्न दिएका छैनन्। प्रहरी पनि क्रसर उद्योगसँगै मिलेको परिवारले आरोप लगाएका छन्।

मृतकको शव जनकपुर पठाएको छ। टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपर चालक फरार छन्।

मृतक महतो भारतको भोपालमा इन्जिनियरिङ पढ्दै आएका थिए । उनी गाउँमा हुने गरेको अबैध उत्खनन्‌को लामो समयदेखि विरोध गर्दै आएका थिए ।

सम्बन्धित समाचार