३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

अबैध उत्खनन्‌को विरोध गर्दा रडले घोचेर सुताइयो अनि टिपरले किचियो



जनकपुर– खोला उत्खनन्‌को बिरोध गर्ने दिलीपकुमार महतोलाई क्रसर उद्योगीहरुले फलामको रडले घोचेर घाइते बनाई उनको शरीरमाथि टिपर चलाएको खुलेको छ ।

धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका २४ वर्षीय दिलीप महतोको शुक्रबार बिहान ४ बजे टिपर चलाएर हत्या गरिएको थियो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पहिला फलामको लिभरले उनीमाथि प्रहार गरी घाइते बनाएर उनीमाथि टिपर चलाएको बाहिर आएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार राति ९ बजे पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार दिलिपको दाहिने कोखामा चार जना मिलेर फलामको लिभरले घोचेर खोलामा सुताई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको थियो ।

धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतका अनुसार खोलामा टिपरले बालुवा गिट्टी चोरी गरी लगिरहेको थाहा पाएपछि ओमप्रकाश भनिने दिलीप टिपर समात्न गएका थिए । त्यही क्रममा क्रसर उद्योगी सोही ठाउँका २७ वर्षीय विपिन महतो, महोत्तरीको बर्दिवास नगरपालिका ९ बस्ने ना.७ ख ६४१३ नम्बरका टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतो, बर्दिवासकै वडा नम्बर २ निवासी लोडर चालक २४ वर्षीय जितेन्द्रकुमार महतो र धनुषाको मिथिला नगरपालिका ५ बस्ने २७ वर्षीय रोशन यादवले उनको हत्या गरेको प्रहरी प्रमुख बस्नेतले बताए ।

पत्रकार सम्मेलनमा यी चारै जनालाई प्रहरीले सार्वजनिक पनि गरेको छ । दिलिप महतोले अवैध रुपमा खोला तथा नदीमा क्रसर उद्योगीले गर्दै आएको दोहनको विरोध गर्दै आएका थिए । त्यसैले क्रसर उद्योगी विपिन महतोले तीन दिनअघि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए । दिलिपको हत्यापछि परिवारका सदस्यहरुले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले क्रसर उद्योगी विपिनलाई शनिबार बिहान उनको ससुराली गाउँबाट पक्राउ गरेको थियो । प्रहरीले हत्यामा संलग्नलाई उन्मुक्ति नदिने प्रतिबद्धता जनाएपछि शनिबारै परिवारका सदस्यहरुले दिलिपको शव बुझेका थिए । शनिबार साँझ पोष्टमार्टम गरी दिलीपको शव परिवारजनलाई बुझाइएको धनुषाका प्रहरी प्रमुख एसपी बस्नेतले जानकारी दिए

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : १२ बजे