३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

ओली, दाहाल र देउवाबीच छलफल



काठमाडौं- प्रधानमन्त्री निवास बालुटारमा शीर्ष नेताहरुबीच शुक्रबार छलफल भएको छ । प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनलगायतका विषयमा आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दाका विषयमा छलफल भएको जनाइएको छ ।

छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेकपा नेता खिमलाल देवकोटा सहभागी छन्।

सातवटै प्रदेशमा आयोगबारेको विधेयकको मस्यौदामा द्वन्द्वपीडितसँग परामर्श गरेपछि यो छलफल भइरहेको हो। नेकपा र कांग्रेस नेताहरू संयुक्त रूपमा सातवटै प्रदेशमा गएका थिए। उनीहरूले पीडितसँग विधेयकमा प्रस्ताव गरिएका व्यवस्थालाई लिएर छलफल गरेका थिए। यो विधेयक संसदबाट पास गराउने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने तयारी भइरहेको छ।

दुवै आयोग गत वैशाख १ गतेबाट पदाधिकारीविहीन छन्। सरकारले आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो। समितिले दरखास्त आहृवान गरेका ५७ मध्ये ५४ र त्यसमा थप ७ गरी ६१ उम्मेदवारको सूची मंसिर पहिलो साता प्रकाशन गरेको थियो।

राजनीतिक तहमा सहमति हुन नसक्दा समितिले नाम सिफारिस गर्न सकेको छैन्। सिफारिस समितिको शुक्रबार बसेको बैठकले पदाधिकारीमा पुरानाहरू नदोहोर्‍याउने सहमति गरेको थियो। समितिले आगामी बुधबार बैठक गरेर नाम छनोट गर्ने निर्णय गरेको थियो। त्यसैको पूर्वसन्ध्यामा दाहाल र देउवाबीच छलफल भएको हो।

सत्य निरूपण र बेपत्ता आयोग २०७१ माघमा गठन गरिएका थिए। ६५ हजार हाराहारी उजुरी परेकामा आयोगले चार वर्षसम्म पनि छानबिन गर्न सकेन ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १२ : ३१ बजे