६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

कश्मीर विवाद नबढाउन भारतको आग्रह



नयाँदिल्ली — संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‌मा कश्मीर विवादलाई नबढाउन भारतले चीनसमक्ष आग्रह गरेको छ ।

कश्मीर विवाद भारत र पाकिस्तानको द्विपक्षीय मामिला भएको भन्दै उसले यस विषयलाई राष्ट्रसंघमा नबढाउन बिहीबार आग्रह गरेको हो ।

कश्मीरस्थित राष्ट्रसंघीय पर्यवेक्षक मिसनमाथि राष्ट्रसंघीय सुरक्षा परिषद्ले पुनरावलोकन गर्नुपर्ने भन्दै चीनले आग्रह गरेको एक दिनपछि भारत सरकारले विज्ञप्ति जारी गरेको छ ।

राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा परिषद्‌मा रहेका अधिकांश राष्ट्रले कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तान आफैंले समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

यद्यपि राष्ट्रसंघका लागि चिनियाँ दूतले भने बुधबार कश्मीरको विषयमा भारत र पाकिस्तानबीच पुनः विवाद हुन सक्ने चेतावनी दिँदै आफैंले बोलाएको सुरक्षा परिषद्को बैठकले वार्तामार्फत् दुवै देशलाई समस्या समाधानका लागि सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

कश्मीरलाई भारतीय संविधानले सुनिश्चित गरेको विशेषाधिकार खारेज गर्दै गत अगस्ट ५ मा केन्द्र शासित दुई संघीय एकाई बनाएपछि पछिल्लो पटक भारत र पाकिस्तानबीच तनाव बढेको हो ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : १५ बजे