काठमाडौँ– सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले शनिबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफारिस गरेको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले बताए।
सिफारिस गरिएकामा सत्य निरुपणको अध्यक्षमा डा गणेशदत्त भट्ट र बेपत्ता आयोगको अध्यक्षमा युवराज सुवेदी छन् । पदाधिकारी विहीन भएको नौ महिनापछि समितिले नाम सिफारिस गरेको हो ।
समितिका सदस्य शर्मिला कार्कीले समितिको २४आँै बैठकबाट दुवै आयोगका पाँच/पाँच जना पदाधिकारीको नाम सिफारिस गरिएको बताए । उनले कानून मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाइएको बताए ।
सरकारले गत चैत्र ११ गते ती दुवै आयोगका पदाधिकारीको नाम सिफारिस गर्नका लागि मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । गत चैत मसान्तदेखि आयोग पदाधिकारी विहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन सकेका छैनन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा आयोगका पदाधिकारीको नाम सिफारिस समितिले गरेपछि मन्त्रिपरिषद्बाट नियुक्त गर्ने सहमति भएको थियो ।