५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

ओली-दाहाल छलफल सकियो, आजै सचिवालय बैठक बस्ने



काठमाडौं– नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सकिएको छ।

सभामुख उम्मेदवारको टुंगो लगाउन आइतबार बिहान ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब ३ घन्टा छलफल भएको थियो । छलफल सकिए लगत्तै दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक बोलाइएको छ।

सोमबार प्रतिनिधि सभाको बैठक तोकिएकाले सभामुख उम्मेदवार आइतबारसम्म टुंग्याइ सक्नुपर्ने दबाव नेकपालाई छ।

नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन। पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सूचना टाँस गरेर स्थगित भएको थियो । अर्को बैठक पुस ६ गतेलाई बोलाइएको छ ।

गत पुस २७ गते नेकपाका दुई अध्यक्षबीच भएको छलफल अनुसार माघ ६ को बैठक बस्नुअघि सभामुखमा सहमति जुटाउने र माघ ६ को बैठकमा सभामुखको निर्वाचन प्रकृया सुरु गर्नेबारे कुराकानी भएको थियो । अध्यक्षद्वयबीच पूर्व एमाले वा पूर्व माओवादी कुन समूहको सभामुख उम्मेदवार बन्ने भन्नेमा ओली र दाहालबीच सहमति जुट्न सकेको थिएन ।

सभामुख उम्मेदवारका लागि अध्यक्ष ओलीले सुवास नेम्वाङ र अर्का अध्यक्ष दाहालले अग्नि सापकोटालाई रुपमा अघि सारेका छन् । उपभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छिन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १ : १० बजे