१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

छाउगोठमा मृत्यु भएकी पार्वतीका जेठाजुलाई ४५ दिन कैद



अछाम– साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी पार्वती बुढा रावतको मंसिर १६ गते छाउगोठमा मृत्यु भएपछि पक्राउ परेका जेठाजुलाई जिल्ला अदालत अछामले ४५ दिनको कैद फैसला सुनाएको छ।

मृतक पार्बतीका जेठाजु छत्र रावतलाई जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ४५ दिन कैद फैसला सुनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानुनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति हुन्। रावत यसअघि अदालतको आदेशमा २५ दिन प्रहरी हिरासतमा बसिसकेका छन् । रावतलाई भेदभाव तथा अन्य अपमान जनक शीर्षकमा गएको पुस १३ मा मुद्दा दर्ताको पछिल्लो दिन १५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

उनले एक वर्षभन्दा कम कैद सामान्य प्रकृतिका मुद्दामा प्रतिदिन तीन सय रुपैयाँका दरले बुझाइन्छ भने रावतले कैदमा बस्न बाँकी रहेको १० दिनको छ हजार रुपैयाँ बुझाएर गएका छन् ।

मृतक पार्वतीका श्रीमान् रोजगारको सिलसिलामा भारतमा रहेका र सासू ससुरा पनि घर बाहिर रहेकाले प्रहरी प्रतिवेदनका आधारमा घरमूली रहेका छत्र रावतलाई मंसिर १९ गते पक्राउ गरिएको थियो।

रावतको मृत्युपछि अछाममा छाउगोठ भत्काउने अभियान तीव्र भइरहेको छ। अछामलाई फागुन महिनाभित्र छाउ गोठ मुक्त जिल्ला घोषणा गर्ने गरी प्रहरी र जनप्रतिनिधि गोठ भत्काउने अभियानमा लागिपरेका छन् ।

२०७३ मा महिला तथा बालबालिका कार्यालयले छाउपडि अवस्थाबारे बिश्लेषण सम्बन्धी घरधुरी सर्वेक्षण अनुसार जिल्लामा ३२ हजार ६ सय ६ गोठ रहेको छ ।

प्रहरीले हालसम्म २ हजार ९ सय ४४ गोठ भत्काएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। अछाममा एक दशक यता १४ जना महिला तथा किशोरीको छाउगोठमा ज्यान गइसकेको छ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहिबार  ४ : १३ बजे