५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले दिए सामूहिक राजीनामा



काठमाडौं– नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन्। तीन महिनाको समयसीमा दिँदै उनीहरूले व्यवस्थापनसमक्ष राजीनामा बुझाएका हुन्।

सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ पत्र बुझाएका छन् ।

राजीनामाको चेतावनीसहित पत्र दिने सबै पाइलट अन्तर्राष्ट्रिय उडानका जहाज उडाउने हुन् । उनीहरूले ३ महिनामा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन । व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् । निगमका पाइलट लामो समयदेखि सेवा–सुविधाको विषयलाई लिएर रुष्ट थिए ।

पाइलटहरूका अनुसार विदेशीले महिनामा ४६ घन्टामात्र जहाज उडाउँछन् भने हप्तामा २ दिन छुट्टी पाएँछन्। तलब भने उनीहरूले १५ लाख पाउँछन् त्यसमाथि कर पनि व्यवस्थापनले तिरिदिन्छ। नेपाली स्थायी पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन्। नेपाली पाइलटले कर आफैंले तिर्दै आएका छन्।

यसअघि नेपाल वायु सेवा निगमका मदन खरेलले पनि निगमको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयकै सचिव केदारबहादुर अधिकारीलाई रिक्त अध्यक्षको जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ७ : ०० बजे