१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

काँग्रेसको विवाद मिलाउन देउवा निवासमा शीर्ष नेताबीच छलफल



काठमाडाैं– नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा शीर्ष नेताहरुबीच शुक्रबार बिहान छलफल भएको छ ।

शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुङ्गो लगाउने बताइएको छ ।

बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल जारी रहेको जनाइएको छ । विवाद समाधानका लागि यसअघि पार्टी उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विभिन्न चरणमा बैठक बसी सहमतिको प्रयास गरेका थिए । यसअघि बुधबार साँझ पार्टीका शीर्ष नेताबीच सकारात्मक छलफल भएको थियो ।

शुक्रबारको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु सिंह र सिटौलालगायत उपस्थित छन्। काँग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद देखिएको हो ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो । उक्त बैठकमा आफ्नो माग सुनुवाइ नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य भने अनुपस्थित थिए ।

 

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  २ : १० बजे