नेकपा बैठक आज सकिँदै, अध्यक्ष दाहाल र महासचिव पौडेलले जवाफ दिने

२०७६ माघ १९, आईतवार १०:४६

काठमाडौं– नेकपाको केन्द्रीय कमिटि बैठक आज सकिँदैछ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले जवाफ दिएपछि आइतबार समापन हुँदैछ ।

बैठक उद्घाटनमा लामो मन्तव्य दिएपछि छलफलहरुमा सहभागी नभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले समापनका अवसरमा केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने भएका छन् ।

१५ वटा विभिन्न समूहबाट राजनीतिक प्रतिवेदन तथा संगठनात्मक पतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नहरूबारे दाहाल र पौडेलले विस्तृतमा जवाफ दिनेछन् । केन्द्रीय कमिटी बैठकले विभिन्न प्रस्तावहरू पारित गर्नेछ ।

बैठकअघि केन्द्रीय कमिटीमा उठेका प्रश्नबारेमा छलफल गर्न अध्यक्ष दाहाल बालुवाटार पुगेका छन् । दुवै अध्यक्षबीच छलफलपछि समान धारणा लैजाने प्रयास भइरहेको नेकपा स्रोतले जनाएको छ ।

बैठकमा एमसीसीका सन्दर्भमा विज्ञ सम्मिलित कार्यदल गठन गरेर एकमतले पारित गर्नुपर्ने सुझाव केन्द्रीय कमिटी बैठकमा आएको छ । यसबारे पनि छलफल हुने बताइएको छ । अब कार्यदल गठन गर्ने समय नरहेकाले मुख्य नेताहरूबीचको छलफलबाट यसलाई टुंगो लगाइने सम्भावना रहेको स्रोतले जनाएको छ ।