३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

कोरोनाको चेतावनी दिने डाक्टरकै मृत्यु



बेइजिङ (एजेन्सी)— कोरोना भाइरसका कारण चीनमा अर्को एक जना डाक्टरको मृत्यु भएको छ । गत डिसेम्बरमा नै चीनमा ‘सार्स’ भाइरसजस्तै प्रकोपको खतरा रहेको भन्दै चेतावनी दिने ३४ वर्षीय डाक्टर ली वेनलियाङको शुक्रबार बिहान मृत्यु भएको हो ।

यसअघि माघ ११ गते हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो।

वुहान सेन्ट्रल अस्पतालले लीको मृत्यु शुक्रबार बिहान भएको पुष्टि गरे पनि केही चिनियाँ सञ्चारमाध्यमले भने बिहीबार राति नै लीको मृत्यु भएको बताएका थिए।

‘कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि लड्दै गर्दा हाम्रो अस्पतालका आँखा रोग विशेषज्ञ ली वेनलियाङलाई कोरोना संक्रमण भएको थियो। उनलाई बचाउनका लागि हामीले निकै प्रयास गर्यौं। तर शुक्रबार बिहान २:५८ मा उनको मृत्यु भयो,’ अस्पतालले विज्ञप्तिमार्फत भनेको छ।

घन्टौंसम्म लीको मृत्युका बारेमा विभिन्न समाचार आइसकेका थिए। अस्पतालले लीको अवस्था अत्यन्तै गम्भीर भएको तर मृत्यु नभएको भन्ने विज्ञप्ति प्रकाशित गरेपछि केही चिनियाँ सञ्चार माध्यमले पहिले गरेका ट्वीट हटाएका थिए। अस्पतालले पछि मात्रै लीको मृत्यु पुष्टि गरेको हो।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ११ : ११ बजे