११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

क्यालिफोर्नियामा सोनाम ल्होछार साँझ भव्यताका साथ सम्पन्‍न, नेपालमा दुर्गमका बालबालिकालाई हजार डलर सहयोग गर्ने घोषणा



क्यालिफोर्निया । तामाङ को–अपरेसन सोसाइटी अफ क्यालिफोर्नियाको आयोजनामा २८५६ औं (जिवा ल्हो) सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रेम लामाको सभापतित्वमा र अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष कुमार दोङको प्रमुख आतित्थ्यमा जनवरी २५ तारिक साँझ भएको सोनाम ल्होछारको औपचारिक कार्यक्रम महासचिव सुरज पाख्रिनले सञ्चालन गरेका थिए ।

क्यालिफोर्निया बे एरिया वरपर बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको ल्होछार साँझमा अमेरिकाका अन्य विभिन्न राज्यहरु र बेलायतबाट पनि अतिथिहरु उपस्थित थिए ।

लामा गुरुहरुबाट मोलम प्रार्थना गरी सुरु गरिएको ल्होछार कार्यक्रममा केही अतिथिहरुले ल्होछारको शुभकामना मन्तव्य राखेका थिए । आयोजक संस्थाका सदस्य अमृत घिसिङले सबै पहुनाहरुलाई स्वागत गरे भने एनएएनसीका अध्यक्ष तथा विशेष अथिति ईश्वर सिटौलाले बे एरियाका सम्पूर्ण संघ सस्थाको तर्फबाट ल्होछारको शुभकामना मन्तव्य राखे । उत्तर अमेरिकी तामाङ सोसाइटीका तर्फबाट उपाध्यक्ष टेक वाइबा लामाले शुभकामना सन्देश दिए ।

शुभकामना मन्तव्यको क्रममा ग्रेटर वासिङ्टन तामाङ समाजका अध्यक्ष उत्तर दोङले तामाङहरु अब ग्लोबलाइज् भइसकेकोले तामाङ चाडपर्वहरु पनि ग्लोबलाइज् भएको बताए ।

प्रमुख अथिति कुमार दोङले तामाङहरु सबै जातजाति, धर्म सम्प्रदाय, भाषा तथा संस्कारसँग मिलेर बस्न रुचाउने जात भएको बताउँदै आजको उपस्थिति यसको प्रमाण भएको तर्क राखे ।

उक्त ल्होछार कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका तीनजना विशेष व्यक्तिहरु व्यवसायी जय तामाङ, युवा प्रतिभा रोज लामा र एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्ललाई सम्मान गरिएका थियो ।

यसैगरी उत्तर अमेरिकी तामाङ सोसाइटीको उपाध्यक्ष शेर लामा तामाङको संयोजकत्वमा आकस्मिक कोषमा ५०० डलर सहयोग गरेका आकस्मिक कोषका संस्थापक सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । औपचारिक सत्रलाई समापन गर्ने क्रममा अध्यक्ष प्रेम लामाले उपस्थित सम्पूर्ण पाहुनाहरुलाई प्रत्यक्ष–अप्रत्यक्ष साथ सहयोगका लागि संस्थाको तर्फबाट विशेष धन्यवादका साथ आभार ब्यक्त गरेका थिए ।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम उत्तर अमेरिकी तामाङ सोसाइटीका महासचिब डोल्मा लामा, आयोजक संस्थाका सदस्य कल्पना लामा र अभिनेत्री पूजा चन्द लामाले पालैपालो सञ्चालन गरेका थिए । तामाङ सेलोका साथै नेपाली गीतहरुको मिक्स प्रस्तुति रहेको कार्यक्रममा सहभागीहरु गज्जब रमाएका थिए । अभिनेत्री पूजा चन्द लामाले एक आकर्षक नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिइन् ।
थुप्रै स्थानीय कलाकारलगायत साइलेन्ट मोन्क ब्यान्ट, विकल्प फाउन्डेशन र एन्जेल्स ब्यान्डका राजु लामाले सांगीतिक प्रस्तुति गरेर हलमा खचाखच भरिएका दर्शकलाई गज्जब नचाएका थिए । ल्होछार कार्यक्रम अत्यन्तै मनोरन्जनात्मक भएको धेरै सहभागीहरुले बताए । निकै नै राम्रो व्यवस्थापनमा सोनाम ल्होछार मनाउन पाएकोमा सहभागीहरु दंग देखिन्थे । उनीहरुले आयोजक संस्थाको राम्रो व्यवस्थापकीय क्षमताको तारिफसमेत गरिरहेका सुनिन्थे ।

नेपालको हिमाली भेग दोलखाको दुर्गम तामाङ गाउँहरुमा परिरहेको हिमपात तथा चिसोले पारिरहेको प्रभाव तथा असरलाई मध्यनजर गरी त्यस क्षेत्रमा अध्ययनरत करिब एक सयजना बालबालिकाहरुलाई केही न्यानो लत्ताकपडा प्रदान गर्नको निम्ति आयोजक संस्था तामाङ को–अपरेसन सोसाइटी अफ क्यालिफोर्नियाले २८५६ औं सोनाम ल्होछारको उपलक्ष्यमा एक हजार डलर सहयोग गर्ने घोषणा गर्यो ।
( क्यालिफोर्नियाबाट डोल्मा लामाको सहयोगमा तयार पारिएको)

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ३१ बजे