६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

निगमले फागुन १९ देखि जापानको नारिता उडान भर्ने



काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ । निगमको एयरबस वाइड बडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

निगमको जहाज बिहान १:२५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि उडान गरिने र सोही दिन अपरान्ह् ६:२५ बजे काठमाडौँमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ ।

हालका लागि प्रवर्द्धनात्मक भाडाडर काठमाडौँबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरिएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ किलोका दुई ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ किलोका दुई ब्यागेजको सुविधा पाउने छन् ।

नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले ट्रान्जिटको झन्झट समाप्त हुनेछ । नारिता उडानका लागि यात्रुको उत्साहवर्द्धक बुकिङ भइरहेको निगमको वाणिज्य विभागले उल्लेख गरेको छ । मुख्य पर्यटकीय मौसम भएकाले पनि यात्रुको आवतजावत राम्रै हुने निगमको अपेक्षा छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १० : १३ बजे