१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

स्थलमार्गबाट दिल्ली गएका नेपाली विमानबाट फर्कन नपाउने



काठमाडौं– स्थलमार्गबाट दिल्ली गएका नेपालीहरू दिल्लीबाट विमान चढेर नेपाल फर्कन नपाउने भएका छन् । परराष्ट्र मन्त्रालयको निर्देशनमा दिल्लीस्थित नेपाली दूतावासले ‘आगमन छाप’ भएका यात्रुको राहदानीमा मात्रै ‘प्रस्थान छाप’ लाग्ने जानकारी दिएको हो ।

‘नेपालको अध्यागमन विभागले स्थलमार्गबाट भारत जाने नेपाली नागरिकको राहदानीमा प्रस्थान छाप नदिने/नलगाउने व्यवस्था गर्न मातहत निकायलाई स्पष्ट निर्देशन दिएको छ’ नेपाली दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘त्यसरी नेपाली अध्यागमन कार्यालयले प्रस्थान छाप नलगाएपछि सीमा पारी भारतीय अध्यागमनले समेत आगमन छाप नलगाउने भएकाले निजहरूलाई भारतीय विमानस्थलबाट उडान अनुमती नदिइने व्यवहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।’

खुला सिमानाको दुरुपयोग गर्दै मानव तस्करी हुने गरेको र स्थलमार्गबाट भारत प्रवेश गरेर तेस्रो मुलुक गएकोले यस्तो व्यवस्था गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपाल सरकारले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेटस् लगायतका मध्यपूर्वका देशमा भारतीय विमानस्थल प्रयोग गरेर जान रोक लगाएको छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : ०९ बजे