काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले शेर्पा लगायत हिमाली भेगमा मनाइने ग्याल्पो लोसारका लागि ३ दिन बिदा दिने भएको छ । गाउँपालिकाको यही फागुन ७ गते बसेको बैठकले फागुन ११, १२ र १३ गते गरी तीन दिन सांस्कृतिक महत्वको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको हो । ‘फागुन महिनाको ११, १२ र १३ गते गरी जम्मा दिन ३ (तीन) सांस्कृतिक महत्वको ग्याल्पो लोसार परेकोले सोको उपलक्ष्यमा यस भोटेकोसी गाउँपालिका अन्तर्गतका सरकारी कार्यालय र विद्यालयहरु समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त ३ दिन कारा्यालयको सम्पूर्ण कार्यहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ’ गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
नेपाल शेर्पा संघले राष्ट्रिय ग्याल्पो लोसारमा सार्वजनिक बिदा दिन संघीय सरकारसँग माग गरेको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाउँदै संघले आदिवासी जनजातिले मनाउने पर्वहरुमा दिइँदै आएका सार्वजनिक बिदाहरु अबिलम्ब सच्याइ शेर्पा लगायत समग्र हिमाली क्षेत्रमा मनाउने मुख्य पर्व राष्ट्रिय ग्याल्पो लोसारको सार्वजनिक बिदाको निर्णय गर्न माग गरेको हो ।
शेर्पा लगायत हिमाल भेगका आदिवासी जनजातिहरुले यही फागुन १२ गते ग्याल्पो लोसार मनाउँदैछन् ।
गाउँपालिकाको सूचना