३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

नेपाली महिलाले अमेरिकाको माउन्ट डेनाली चढ्ने



मच्छे गुरुङ
न्युयोर्क । नेपाली महिला शर्मिला थापा मगरले अमेरिकास्थित माउन्ट डेनाली आरोहण गर्ने भएकी छन् ।

 

न्यूयोर्कको ज्याक्सनहाइटमा पत्रकार सम्मेलन गरी उनले आउने मे ९ तारिखमा माउन्ट डेनाली आरोहण गर्ने जानकारी दिएकी हुन् । माउन्ट डेनाली आरोहणका लागि अनुमति पत्रसमेत लिइसकेको शर्मिलाले बताइन् । शर्मिलासँगै देश विदेशका विभिन्न हिमाल ३५ पटक आरोहण गरेका इन्टरनेसनल माउन्टेन गाइड तुलसी गुरुङ रहने छन् ।


एकल महिलाले पनि चाहेको खण्डमा जुनसुकै काम गर्न पनि सफल हुन्छ भनेर एकल महिलाको आत्मविश्वास बढाउनका लागि पनि माउन्ट डेनाली आरोहण गर्न लागेको उनको भनाइ छ ।

भिजिट नेपाल २०२० को अवसर पारेर गर्न लागेको माउन्ट डेनाली आरोहणले भ्रमण वर्ष प्रचार प्रसारमा सहयोग पुग्ने शर्मिलाको विश्वास छ । आरोहणका लागि झन्डै ३० हजार अमेरिकी डलरसम्म खर्च लाग्ने बताउँदै उनले व्यक्तिगत रूपमा खर्च बेहोरेर डेनाली आरोहण गर्न गाह्रो भएकाले अमेरिकामा रहेका नेपाली समुदाय, संघसंस्था र सहयोगी महानुभावहरूसँग सहयोग गरिदिन आग्रह गरेकी छन् ।

माउन्ट डेनालीमा नेपालको झन्डा र भिजिट नेपाल २०२० को झन्डा फहराउने शर्मिलाको योजना छ । भन्छिन्, ‘मेरो यो अभियानमा नेपाल सरकार, एनआरएनए र अमेरिकास्थित विभिन्न संघ संस्थाका पदाधिकारी र नेपाली समुदाय सकारात्मक हुनुहुन्छ ।’

समिदा वुमन डेभलपमेन्ट फोरम नामक संस्था स्थापना गरी घरेलु हिंसापीडित एकल महिलाका लागि काम गर्दै आएकी शर्मिलाले सन् २०१५ मा युएनडिपीले प्रदान गर्ने पिस अवार्ड प्राप्त गरिसकेकी छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कका उनले यो अवार्ड प्राप्त गरेकी थिइन् । यसअघि शर्मिलाले सन् २०१९ अप्रिल १० मा ६ हजार ५ सय ५१ मिटर अग्लो भर्जिन पिक माउन्ट ग्याल्जेन आरोहण गरेकी थिइन् ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ६ : ११ बजे