शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई चालू शैक्षिक सत्रको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्न आग्रह गरेको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज मन्त्रालयमा विद्यालय सञ्चालकका प्रतिनिधिलाई आमन्त्रण गरी सो आग्रह गरिएको र त्यहीअनुसार प्रबन्ध हुने जनाए । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) भने चैत ६ गतेदेखि सञ्चालन हुने तय भइसकेको छ ।
बैठकमा सहभागी राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा उत्पन्न स्वास्थ्य सङ्कटलाई ध्यान दिएर सरकार र आफूहरुले चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गराउने तयारी गरेको बताए ।
विद्यालयहरुले यसअघि कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत १३ गतेपछि गर्ने गरी तयारी गरेका थिए । उनले सबै स्थानीय तहमा एकै सातामा वार्षिक परीक्षा सम्पन्न गराउन आगामी शैक्षिक सत्रमा पनि प्रबन्ध गर्नुपर्ने पनि बताए। मन्त्रालयले यसअघि विभिन्न मुलुकका लागि विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने नो अब्जेक्सज लेटर हालका लागि रोक्काको निर्णय गरेको थियो ।
विद्यालयमा वार्षिक उत्सव, भेला नगर्न मन्त्रालयको आग्रह
मन्त्रालयले विद्यालयको वार्षिक उत्सव, सभा, अभिभावक भेला नगर्न पनि आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण र सन्त्रास फैलिएकोले आवश्यक सतर्कता अपनाउनका लागि भेला नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
मन्त्रालयमा मंगलबार नेपाल शिक्षक महासङ्घ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सहितको बैठकले सार्वजनिक ठाउँमा कोरोना भाइरस बढ्ने सम्भावना भएकोले सर्तकता अपनाउन विद्यालयमा भेला नगर्ने निर्णय गरेको उनले जानकारी गराए ।