७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

राष्ट्रियसभाका १८ नयाँ सदस्यको शपथ, अर्थमन्त्रीमा खतिवडा पुनःनियुक्त



काठमाडाैं– संघीय संसद्को राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बुधबार आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गरएका छन् । शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई सदस्य छन् ।

शपथ लिनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुसाल छन् ।

नवनिर्वाचित सदस्य भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै शपथ लिएका छन् । समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई सांसदको लोगो लगाइदिनुका साथै बधाई ज्ञापनसमेत गरे।

उक्त अवसरमा संघीय संसद् सचिवालयले उनीहरुलाई संविधान र कानूनसहितको झोला उपलब्ध गराएको थियो । राष्ट्रियसभा सदस्यका लागि गत माघ ९ गते भएको निर्वाचनबाट सात महिला, दुई दलित, दुई अपाङ्गता भएका वा अल्पसङ्ख्यक र सात अन्य समूहबाट निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक एक सदस्यको भने मनोनीत गर्न बाँकी नै रहेको छ । पहिलो पटक गोलाप्रथाद्वारा दुई वर्षे कार्यकाल प्राप्त गर्नुभएका १८ सदस्यको मंगलबार बिदाइ गरिएको थियो ।

स्थायी सदनका रुपमा रहेको सङ्घीय संसद्, राष्ट्रियसभा ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ । शपथग्रहण समारोहमा राष्ट्रियसभाका उपाध्यक्ष, राष्ट्रियसभामा संसदीय दलका नेता, मुख्य सचेतक, सचेतक, सदस्य, भर्खरै कार्यकाल समाप्त गरेको पूर्वसांसद र नवनिर्वाचित सदस्यका आफन्तजनको सहभागिता रहेको थियो ।

अर्थमन्त्रीमा खतिवडा पुनःनियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अर्थमन्त्रीमा डा युवराज खतिवडालाई पुनःनियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मंगलबार मात्र उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति भण्डारीले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत तोकेकी छन् । नवनियुक्त अर्थमन्त्री खतिवडालाई आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १२ : ०५ बजे