७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मोदीलाई टक्कर दिने केजरीवाल



बीके नेवा
अरविन्द केजरीवाललाई हराउन केन्द्रीय सत्ता र शक्तिले सकेन । जनताको शक्ति अपरम्पार छ । दिल्ली विधान सभा चुनावमा फेरि केजरीवालको सत्ता कायम भयो । आम आदमी पार्टी (आप)ले दुई तिहाइसहित जित हासिल गरेपछि तेस्रोपटक मुख्यमन्त्रीको शपथ लिनुभयो केजरीवालले । उहाँको पार्टीले कामका मुद्दा अगाडि राखेर चुनाव लडेको थियो । दिल्ली विधान सभाका ७० सिटमध्ये ६२ सिट जित्यो आपले । इतिहास बोकेको कङ्ग्रेस आई शून्यमा सीमित भयो ।

आपको सीधा टक्कर केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा)सँग थियो जुन केजरीवालको पार्टीभन्दा निकै शक्तिशाली थियो । तर केजरीवालको नेतृत्व र रणनीतिले काम गर्‍यो ।

केजरिवालको पार्टी र्‍याली र धर्ना गर्दै छोटो अवधिमा अस्तित्वमा आएको हो । उसले अहिलेको राजनीति विकल्प दिने भन्दै सन् २०१२ मा स्थापना भएको हो आप । आपले सन् २०१३ मा दिल्ली विधान सभा चुनाव लड्यो र जित्यो पनि । तर जनलोकपालको मुद्दामा केजरीवालले केही हप्तामै राजीनामा दिनुभयो । त्यसपछि सन् २०१५ मा आपले फेरि पटक सरकार बनायो । तर विवादबाट टाढा रहन भने सकेन ।

आपको अनुहारसहित राजनीतिको केन्द्रमा आएका केजरीवालले २०२० को विधान सभा चुनावमा विवादलाई टाढै राख्न कोसिस गर्नुभयो । उहाँले भाजपाको केन्द्रीय मुद्दासामु स्थानीय मुद्दा लिएर चुनाव लड्नुभयो र सहजै जित हासिल गर्नुभयो ।

छोटो अवधिमा राजनीतिको मैदानमा केजरीवालले निकै प्रगति गर्नुभयो । राजधानी नयाँदिल्लीवासीको मन जित्नुभयो ।
आप ‘अर्वन गवर्नेस पार्टी’ जस्तै गरी उदायो । दिल्लीजस्तो प्रदेश जहाँ मुख्यत : सहरी इलाका छन् त्यहाँ उहाँको सरकारले पाँच वर्ष अभूतपूर्व उपलब्धि हासिल गर्‍यो । उहाँ यिनै उपलब्धिका आधारमा निर्भयका साथ चुनाव लड्नुभयो ।

भाजपाले उहाँविरुद्ध घातक अभियान नै चलायो । जातीय मतभेद पैदा गर्ने प्रयास भयो । भाजपाको रणनीति के थियो भने हिन्दुको ध्रुवीकरण आफ्नो पक्षमा र मुसलमानको ध्रुवीकरण आपको पक्षमा हुनबाट रोकियोस् भन्ने थियो । जसकारण मुसलमान भोट विभाजित हुन् । तर केजरीवालको रणनीति भाजपाको रणनीतिलाई विफल बनाउन सफल रह्यो ।

पहिले एक सरकारी अधिकारी रहेका केजरीवालले राजनीतिमा पहिलो कदम विरोध प्रदर्शनबाट सुरु भयो । छोटो अवधिमा चर्चाको शिखर पुग्नुभयो । प्रधानमन्त्री नरेन्द्र मोदीका पछि राष्ट्रिय स्वयंसेवक सङ्घ र उसको पूरै शक्ति छ । आपको तुलनामा भाजपा निकै पुरानो पार्टी हो । उनको साथ कार्यकर्ताको एक फौज मात्र होइन देशका ठूला ठूला पूँजीपति पनि छन् । तर केजरीवालको कुरा फरक छ । उहाँले एक यस्तो पार्टी बनाउनुभयो जुन मुख्यरुपमा गरिबको पार्टी हो । कुनै जातीय समुदाय यस पार्टीको राजनीतिक पूँजी होइन ।

भारतमा जति पार्टी छन् तिनको कुनै न कुनै राजनीतिक पूँजी छ । कुनै न कुनै जाति या समुदायले समर्थन गरेको छ । आपका साथ यस्तो केही पनि छैन । यो अवस्थामा केजरीवालको चुनौती भिन्न छ । उहाँले जहाँ राजनीति गरिरहनुभएको छ त्यो पनि अन्य राज्य जस्तो छैन । यसैले उहाँले फरक किसिमको राजनीति गरिरहनुभएको छ ।

आपको केन्द्रीय तत्व भनेको सहरी सुशासन अर्थात् अर्बन गवर्नेस हो । उहाँसँग न प्रहरी छ न जमिन । यसकारण यो क्षेत्रमा उहाँले धेरै काम गर्न त सक्नु हुन्न तर जुन क्षेत्रमा उहाँको अधिक नियन्त्रण रहेको छ, जस्तो शिक्षा, यातायात, स्वास्थ्य यसमा धेरै काम गर्नुभएको छ । यसको नतिजा राम्रो छ ।

सामान्यतया नयाँ पार्टीले बहुमत लिएर सत्तामा आउने र त्यस्तै तरिकाबाट सरकार बनाउने कमै हुन्छ । यसरी हेर्दा आपको सफलता आफैमा गौरव छ । आपले आफ्नो पहिलो बजेटमा शिक्षा, यातायात, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा बजेट विनियोजन गर्‍यो । केन्द्र सरकारसमेत कुनै राज्य सरकारले यस्तो नगरेको समय यो आफैमा नयाँ थियो । शिक्षा, स्वास्थजस्ता क्षेत्र निजी क्षेत्रलाई दिने प्रवृत्ति बनिरहेको समयमा आपले त्यसको जिम्मेवारी आपूmमा राख्यो । व्यापक सुधारका कामसमेत गर्‍यो जसबाट आममानिसलाई लाभसमेत भयो ।

आपले अर्बन गवर्नेस र वेलफेयर सरकारको एक फरक मोडल राष्ट्रिय मञ्चमा प्रस्तुत गर्‍यो । जुन मोदी र कांग्रेसको वेलफेयर सरकारको मोडलभन्दा निकै फरक थियो । अघिल्लो वर्ष केन्द्र सरकारले नागरिकता संशोधन कानुन लागू गर्ने निर्णय गर्‍यो । यसको विरोधमा देशभर प्रदर्शन भए तर दिल्लीको शाहीन बाग महिलाको विरोध प्रदर्शनका कारण चर्चामा रह्यो । यो सबै चुनावको तयारी भइरहेको समयमा भएको थियो । तर केजरीवाल न यसको समर्थनमा न विरोधमा बोल्नुुुभयो । भाजपा शाहीन बागको मुद्दालाई रणनीतिक तरिकाबाट उठाउन चाहन्थ्यो ।

प्रदेशका उपमुख्यमन्त्री तथा केजरीवालका नजिक मानिने मनीष सिसोदियाले खुलेर शाहीन बागको साथ उभिनुपर्ने बताउनुभएको थियो । केजरीवालले आफ्ना भनाइमा कहीँ पनि शाहीन बागको विरोध गर्नुभएन । उहाँले केवल यति भन्नुभयो, ‘यसका कारण बाटो छेकिन्छ भने त्यस्तो हुनु हुँदैन खुल्नु पर्छ ।’

सन् २०१५ को तुलनामा भाजपाले २०२० केही सुधार गर्‍यो । सन् २०१५ मा तीन सिटमा समेटिएको भाजपा यस पटक आठ सिटमा रह्यो ।
आपको विरुद्ध केवल भाजपामात्र लडिरहेको थिएन, मिडिया, प्रहरी पनि यसको विरोधमा थिए । सीबीआई यसको विपक्षमा थियो । यति धेरै विरोधीलाई परास्त गर्दै फेरि आप ६२ सिट लिएर आउनु सानो कुरा होइन ।

भाजपा भारतमा एक शक्तिशाली पार्टी हो । जसले आफ्ना मुख्यमन्त्री, नेतालाई दिल्लीको चुनावी मैदानमा उतारेको थियो । यी सबै कुराको मुकाविला गरेर सफलता प्राप्त गर्नु नयाँ पार्टीको लागि चानचुने कुरा थिएन । केजरीवालमाथि चुनाव प्रचारमा करोडौँ रुपियाँ खर्च गरेको आरोप पनि लागिरहेको छ । तर राजनीतिमा प्रचार गरेर मात्र हुँदैन । यदि काम नगरेर प्रचारमात्र गरेको भए यो सफलता मिल्ने थिएन ।

राजनीतिमा एक काम गरेर मात्र सफलता प्राप्त हुँदैन । राजनीतिमा सुशासन कायम गर्नुको साथै आफ्नो रणनीति बनाउनु, विपक्षीको रणनीति बुझ्नु, मिडियासँगको सम्बन्ध र सामाजिक समिकरण बनाउनु पनि महत्वपूर्ण हो ।

दिल्लीभन्दा बाहिर पन्जावबाहेक आपको राजनीतिक प्रभाव छैन । राष्ट्रियस्तरमा काम गर्न नेता र कार्यकर्ता तयार पार्न आप चुकेको देखिन्छ । यो केजरीवालका सामु चुनौती हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : १८ बजे