तेहरान, इरान (एजेन्सी)– इरानको कारागारहरूमा भएको चापका कारण कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ ।
इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड–१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताएका छन् ।
यद्यपि पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका ‘सुरक्षासँग सम्बन्धित कैदीहरू’लाई भने छाडिएको छैन ।
इरानमा कोरोना भाइरसका कारण ७९ व्यक्तिको मृत्यु भइसकेको छ भने दुई हजार ५०० व्यक्ति सङ्क्रमित रहेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।