३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

श्रमस्वीकृति छँदै कामदारको मृत्यु भए क्षतिपूर्ति



काठमाडौँ — वैदेशिक रोजगार बोर्डले श्रमस्वीकृतिको अवधिमा नेपालभित्र मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । यसअघि बोर्डले विदेशमा मृत्यु भएका र बिरामी अवस्थामा नेपाल आई मृत्यु भएका कामदारका आश्रित परिवारलाई मात्रै क्षतिपूर्ति दिने गरेको थियो ।

बोर्डका अध्यक्ष समेत रहेका श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवको अध्यक्षतामा बसेको बोर्डको बैठकले आर्थिक सहयोग गर्ने बाटो खोलिदिएको हो । यो निर्णयले तत्काल दुई सय एक जना मृतक कामदारका परिवारले राहत रकम पाउने भएका छन् । बोर्डले उनीहरूलाई जनही सात लाख आर्थिक सहयोग गर्नेछ ।

बोर्डमा नेपालमा मृत्यु भएका २ सय ३४ जना मृतक कामदारका परिवारले क्षतिपूर्ति दाबी गर्दै निवेदन दिएका थिए । जसमा नेपालमा उपचारका क्रममा मृत्यु भएका ५२ जना, दुर्घटनामा ५३ जना, आत्महत्याका कारण १२ जना, प्राकृतिक कारणले मृत्यु भएका १६ जना, कारण नखुलेका १२ जना, श्रमस्वीकृतिको म्याद समाप्त भएको एक वर्षभित्र मृत्यु भएका २१ जना, श्रमस्वीकृतिको म्याद समाप्त भएका ५ जना र विदेश नगई मृत्यु भएका सहित २ सय ३४ जनाको परिवारले बोर्डमा निवेदन दिएका थिए । त्यसमा छानबिन गरी २ सय १ जनालाई क्षतिपूर्ति दिने निर्णय भएको हो । बोर्डले कामदारको कल्याणकारी कोषबाट आश्रित परिवारलाई क्षतिपूर्ति दिँदै आएको छ ।

यसैबीच, कतारस्थित नेपाली दूतावासले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको श्रमस्वीकृतिमा रोक नलगाइएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ । श्रमस्वीकृति रोकिएको भ्रमले कतारमा कार्यरत नेपाली कामदारले घर बिदामा जाने वा नजाने विषयमा सोधपुछ गर्न थालेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  २ : ४६ बजे