२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

कतारका लागि श्रम स्वीकृति दिन बन्द



काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै नेपाल सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले मंगलबारदेखि कतारको लागि श्रम स्वीकृति बन्द गरिएको जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि कतारले सावधानीसहित जोखिममा रहेको नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक लगाएको हो। कतारको सोही निर्णयपछि हाललाई कतार जान चाहने नेपालीका लागि श्रम स्वीकृति दिन बन्द गरिएको दाहालको भनाइ छ ।

उनले अवस्था सहज हुनेबित्तिकै पुनः श्रम स्वीकृति दिन सुरु गरिने बताए । हाल कतार जानका लागि दैनिक ४०० जना कामदारले श्रम स्वीकृति लिँदै आएका छन् ।

नेपालमा कोरोनाको संक्रमण कसैलाई नदेखिए पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिम सूचीमा राखेको छ । पछिल्लो दुई दिनको अवधिमा संयुक्त अरब इमिरेट्स र अस्ष्ट्रेलियामा भने ३ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ३ : ३४ बजे