एजेन्सी– भारतले मार्च १३ बाट लागु हुने गरी विदेशबाट भारत आउन खोजेका सम्पूर्ण आगमनलाई प्रतिबन्ध लगाएको छ ।
कोरोनाभाइरस प्रकोपले महामारी रुप लिएपछि भारतले उक्त कठोर कदम उठाएको हो ।
भारतको यात्रा प्रतिबन्ध कोरोनाभाइरसको प्रसार रोक्न कुनै देशले लागु गरेको सबैभन्दा कठोर ‘यात्रा प्रतिबन्ध’ हो ।
अन्य देशले विदेशीहरुको प्रवेशमाथि मात्र रोक लगाइरहेको समयमा भारतले विदेशबाट भारत आउन खोज्ने आफ्नै नागरिकलाई पनि प्रवेश नदिने घोषणा गरेको छ ।
बुधबार शिर्ष मन्त्रीहरुको एक समूहको वैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको थियो । वैठकको नेतृत्व केन्द्रीय स्वास्थ्य मन्त्री हर्षबर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीले गरेका थिए ।
यात्रा निर्देशिका अनुसार, भारत सरकारले अब मार्च १३ को दिउँसो १२ बजेपछि भारतका लागि हिँडिसेकेका विदेशीलाई समेत प्रवेश दिने छैन ।
प्रतिबन्धमा विदेशमा रहेका भारतीय नागरिकताधारीलाई पनि लागु हुने भए पनि कुटनीतिक नियोगमा काम गर्ने कर्मचारीलाई भने छुट गरिएको छ ।
निर्देशिकामा ‘भारतमा आउनै पर्ने अत्यावश्यक कारण भएकाका विदेशीले तिनको नजिकको भारतीय दूतावास वा वाणिज्यदुतावाससँग सरसल्लाह गर्न सुझाव दिइएको छ ।’
साथै, आफ्ना नागरिकलाई युरोप र अमेरिकाको भ्रमण नगर्न निर्देशन दिएको छ । यो प्रतिबन्ध अप्रिल १५सम्म लागु हुनेछ ।
भारतको नयाँ यात्रा निर्देशिका विश्व स्थास्थ्य संगठनले कोरोनाभाइरस प्रकोपलाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेपछि आएको हो ।