जनकपुर— प्रदेश २ को प्रस्तावित चार नाममा मंगलबार मतदान भए पनि छिनोफानो हुन सकेन । सत्तापक्ष समाजवादी र राजपा, प्रतिपक्ष नेकपा, कांग्रेस र पर्साका सांसद राजेश्वरप्रसाद साहले प्रदेशसभामा दर्ता गरेका छुट्टाछुट्ट्रै प्रस्तावमा दुई तिहाइ बहुमत नजुटेको हो ।
समाजवादी र राजपाले मधेस, नेकपाले जानकी, कांग्रेसले मिथिला–भोजपुरा र पर्साका सांसद राजेश्वरप्रसाद साहले मध्य मधेस प्रस्ताव गरेका थिए । गोप्य मतदानबाट ती सबै अस्वीकृत भएका छन् । सत्तापक्षले प्रतिपक्षी सांसदबाट बढी ‘भोट क्रस’ हुने अपेक्षा गरेको थियो । तर नेकपा र कांग्रेसले सांसदलाई ह्वीप जारी गरेपछि नामकरण अनिर्णीत भयो ।
नेकपा संसदीय दलको बैठकमा सांसदलाई पार्टीको झन्डा छोएर कसम खुवाउँदै मतपत्र खसाल्नुअघि पार्टीका अर्का सांसदलाई देखाउन ह्वीप लगाइएको थियो । नेकपाले पार्टीको ह्वीप नमान्न सक्ने सांसदहरूको सूची नै तयार पारेर उनीहरूको पछाडि अर्को सांसद खटाएको थियो ।
नेकपाले मतपत्र खसाल्नुअघि अर्कोलाई देखाउन भनेपछि विवादसमेत भएको थियो । संसदीय दलको बैठकमा सहभागी एक सांसदका अनुसार नेकपाका सांसद दिलीप साहले मधेस प्रदेश प्रस्तावको पक्षमा मतदान गर्न पाउनुपर्ने माग गरेका थिए । संसदीय दलभित्र छलफल नै नगरी जानकी प्रदेशको प्रस्ताव दर्ता गराएको भन्दै उनले विरोध गरेका थिए ।
ह्वीप जारी भएपछि सांसद दिलीप साहले नेकपाकै अर्की सांसद किशोरी साहलाई मतपत्र देखाउँदै मतपेटिकामा खसालेका थिए । सत्तापक्षको प्रस्तावमा कांग्रेसले आफ्ना सांसदहरूलाई प्रदेशसभाभित्रै घेरेर मतदान गर्न लगाएको थियो । सांसदहरूलाई आलोपालो ल्याएर मतदान गराइएको थियो ।
प्रदेशसभामा नामका लागि पहिलो मतदान नेकपाको प्रस्ताव ‘जानकी’ मा भएको थियो । जसको पक्षमा ३७ मत पर्यो । प्रदेशसभामा ३२ सांसद रहेको नेकपालाई अतिरिक्त पाँच मत परेको हो । जसमा सतापक्षकै पाँच जना सांसदले ‘क्रस भोट’ गरेका थिए । यसलाई नेकपाका सांसदले अचम्म मानेका थिए । कांग्रेसको प्रस्तावमा पनि सत्तापक्षबाट ९ मत ‘क्रस’ भएको थियो । त्यसपछि दुवै विपक्षी दलले तत्कालै बैठक गरेर ह्वीप जारी गरेका थिए । तर पनि चार जनाले क्रस गरे ।
सत्तारूढ राजपा र समाजवादी पार्टीले राखेको प्रस्ताव ‘मधेस प्रदेश’ का पक्षमा ६० मत खसेको थियो । विपक्षमा ४६ जनाले मतदान गरे भने एक मत बदर भएको थियो । प्रदेशसभामा समाजवादीको ३०, राजपाको २५ र नेपाल संघीय समाजवादी पार्टीको एक मत छ । चार मत कांग्रेस र नेकपाका सांसदले खसालेका थिए । एक सय ७ सदस्यीय प्रदेशसभामा दुई तिहाइका लागि ७२ मत चाहिन्छ ।
नेपाली कांग्रेसको मिथिला–भोजपुरा प्रस्तावमा २८ मत परेको थियो । प्रदेशसभामा १९ मात्र सांसद भएको कांग्रेसको प्रस्तावमा ९ मत थपिएको थियो । नेपाली कांग्रेसकै सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको मध्य मधेसमा ४२ मत परेको थियो ।
जनकपुर राजधानी अस्वीकृत
प्रदेश राजधानीका लागि प्रमुख चार दलले ल्याएको प्रस्ताव अस्वीकृत भएको छ । जकपुरलाई स्थायी राजधानी तोक्न समाजवादी पार्टी, राजपा, नेकपा र नेपाली कांग्रेसले संयुक्त रूपमा ल्याएको प्रस्तावमा दुई तिहाइ बहुमत नपुगेको हो ।
प्रमुख दलको प्रस्तावका पक्षमा ५२ मत पर्यो । विपक्षमा पनि समान ५२ मत खसेको थियो । तीन मत बदर भएको निर्वाचन अधिकृत रन्जित यादवले जानकारी दिए । प्रदेशको स्थायी राजधानीका लागि तीन वटा प्रस्ताव दर्ता गरिएका थिए । अरू दुई प्रस्ताव वीरगन्जका लागि बारा र पर्साका सांसदले दर्ता गराएका हुन् ।