न्युयोर्क । नेपाली समुदायमा क्रियाशील सामाजिक संस्था ‘अधिकार’ को १५ औं वार्षिकोत्सवको अवसरमा ज्याक्सन हाइटस्थित पी एस ६९ स्कुलमा नारी दिवस मनाइएको छ ।
गत हप्ता मनाइएको दिवसमा अमेरिकी जनगणना (सेन्सस) २०२० मा सहभागी हुन सबै नेपाली तथा तिब्बती समुदायलाई पनि आग्रह गरिएको थियो । अधिकारले हरेक वर्षझैं यस वर्ष पनि, बौद्ध धर्मावलम्बीहरुको महान् पर्व ल्होसारको शुभकामना व्यक्त गर्दै ल्होसारको महत्वको बारेमा बताएको थियो ।
कार्यक्रममा अधिकारकी कार्यकारी निर्देशक पवित्रा बेन्जामिन र अधिकारकी अर्गनाइजिङ तथा एड्भोकेसी डाइरेक्टर नर्बदा क्षेत्रीले ल्होसारको शुभकामना दिँदै जनगणनामा भाग लिन आग्रह गरेकी थिइन् । अधिकारले अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरुलाई आफ्नो हकहितको बारेमा जानकारी दिने विभिन्न तालिमहरु सञ्चालन गर्नुको साथै कर्नेल युनिभर्सिटीसँगको सहकार्यमा न्यानी (बेबी सिटर) तालिम, सीपीआर तालिम, हेल्थ केयर, हेल्थ इन्स्युरेन्स सेवा उपलब्ध गराउँदै आएको क्षेत्रीले बताइन् ।
कामदारलाई सञ्चालकले ज्याला नदिएको अवस्थामा कानुनी लडाइँ लडेर २३ जना कामदारलाई २ लाख ८५,००० अमेरिकी डलर ज्याला उपलब्ध गराइदिएको क्षेत्रीले बताएका थिए । यसको साथै अधिकारले अंग्रेजी भाषा कक्षाहरु सञ्चालन गरिरहेको, टेम्पोररी प्रोटेक्टेड स्ट्याटस टिपिएसको मुद्दामा वकालत गरेर टिपिएस एक्स्टेन्सन गर्न सहयोग गरेको, नेल सलुन कामदार तथा घरायसी कामदारको अधिकार, साथै नेपाली भाषी समुदायलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउँदै आएको लगायत काम गरिरहेको जानकारी दिइन् ।
कार्यक्रममा उपस्थित वक्ताहरुले जनगणनाको महत्व दर्शाउँदै, जनगणनामा भाग लिन सबैलाई आव्हान गरे । नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत गणेशप्रसाद अधिकारीले ल्होसार तथा नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै जनगणनामा आफ्नो विवरण दर्ता गर्न सबैलाई आग्रह गरे ।
न्यूयोर्क सिटीको क्विन्स बोरोका कार्यवाहक प्रेसिडेन्ट स्यारोन लीले, आफ्नो समुदायको उपस्थिति समुदायको महत्व र संख्या देखाउने भएकोले जनगणनामा सहभागी हुन जरुरी रहेको बताइन् । लीले अमेरिकामा अझै पनि गोरा र काला, गोरा र एशियन्स मुस्लिम तथा अन्य धर्मावलम्बीबीच विभेदकारी राजनीतिक वातावरण रहेको भन्दै आफ्नो हकहितका लागि नडराइकन लड्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै, न्यूयोर्क स्टेट ३९ डिस्ट्रिक्टकी एसेम्बली मेम्बर क्याटलिना क्रुजले नेल सलुनमा काम गर्ने कामदारका लागि न्युयोर्क स्टेटले ‘नेल सलुन एकाउन्टीबिलिटी एक्ट’ ल्याउन लागेको जानकारी दिँदै नेल सलुनमा काम गर्ने कामदारको क्षेत्रमा अधिकारले गरेको कामको प्रशंसा गरे । उनले नेल सलुनमा काम गर्ने कामदारको क्षेत्रमा काम गरेको भन्दै अधिकारका पवित्रा दास लगायतका कामदारहरुले नेतृत्व लिएकोमा प्रशंसा गरिन् ।
उनले भनिन्, ‘अधिकारजस्ता संस्थाको लडाइँका कारण न्युयोर्कमा नेल सलुन कामदारको न्युनतम ज्यालादर प्रतिघण्टा १५ डलर बनाउन सफल भएका छौं । उनले नेल सलुन एकाउन्टीबिलिटी एक्ट ल्याउनका लागि नेपाली समुदाय र नेल सलुन कामदारको संख्या देखाएर दबाबका लागि राजधानी अल्बानी जान सुझाइन् ।
कार्यक्रममा जनगणनाको महत्व चर्चा गर्दै न्युयोर्कबाट कांग्रेस वुमन अलेक्सान्द्रीया ओकासियो कोर्टेज, न्यूयोर्क सिटी २५ डिस्ट्रिक्ट काउन्सिलम्यान डानियल ड्रोम, सेन्सस ब्युरोका डेपुटी डाइरेक्टर अमित भागा, कांग्रेस वुमन ग्रेस मेङ लगायतले अधिकारले प्रवासी कामदारहरुको हक अधिकारको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै कार्यक्रममा बोलाएकोमा गर्व लागेको बताएका थिए ।
अधिकारले युवाहरुलाई प्रोत्साहन गर्ने भन्दै मेघा लामा, माया गुरुङ, प्रार्थना गुरुङ, पवित्रा दास, मिनु गोरखाली, सन्ध्या गुरुङ लगायतलाई कार्यक्रम सञ्चालन गर्ने अवसर प्रदान गरेको थियो ।
अधिकारका याङछेन डोल्मा र सन्ध्या गुरुङ प्रधानले ल्होसारको महत्वबारेमा जानकारी दिँदै नारी दिवस तथा ल्होसारको शुभकामना व्यक्त गरेका थिए । आइएम जेनेरेशन इक्वालटी : रिअलाइजिङ वुमन राइट्स नारासहित विश्वभर ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो ।