शेर्पा किदुगद्वारा ३ सय जनालाई निशुल्क सागसब्जी र फलफुल वितरण

२०७७ बैशाख ४, बिहीबार ०२:४०

न्युयोर्क । शेर्पा किदुगले न्युयोर्कको उडसाइड र ज्याक्सनहाइट आसपासमा बस्ने ३ सय जनालाई निशुल्क सागसब्जी र फलफुल वितरण गरेको छ । उक्त खानेकुरा किदुगले न्युयोर्क सिटिको गो गि्रन एनवाइसि र काउन्सीलम्यान डेनियल ड्रमको कार्यालयको सहयोगमा बुधाबार दिउसो १ बजेदेखि २ बजेसम्म वितरण गरेको थियो ।

‘ नेपाली समुदायको सहयोगको लागी किदुगको व्यवस्थापनमा निशुल्क रुपमा सागसब्जी र फलफुल वितरण गरियो ‘ शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले भने-‘ आज पहिलो दिन ३ सय जनालाई वितरण गरियो अर्को हप्ता यो भन्द बढिलाई दिने योजना बनाएका छौ’ । उनका अनुसार १२ हप्ताको लागी वितरण गर्न लागेको यो सेवा आगामी हप्ता कुन दिन र समय दिन भन्ने बारेमा चाडै जानकारी दिने भएको छ ।

किदुगले अघिल्लो दिन आफनो फेसबुकबाट दिएको सुचना पाएर किदुगको गुम्बा अगाडी आएकाहरुले स्याउ, सुन्तला, सखरखण्ड, प्याज, लेटेस, सिलान्त्रो, दुध, राजमा राखेको प्याकेट पाएका थिए । अध्यक्ष शेर्पाका अनुसार काउन्सीलम्यान ड्यानियल ड्रमले निशुल्क रुपमा उपलब्ध गरेको खाना पनि समुदायलाई वितरण गर्ने तयारी गरिरहेको बताए । किदुगले यो संगै अहिले विरामी भएको घरघरमा मक्स, पन्जा, हयाण्डसेनिटाइजर समेत वितरण गरिरहेको छ ।

सम्बन्धित समाचार