३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

उदयपुरका थप ८ जना कोरोना निकाे भए, शुक्रबार डिस्चार्ज गरिने



काठमाडाैं । उदयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएका छन्। विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरूलाई शुक्रबार बिहान डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन्।

निको भएका ८ जनामध्ये एक जना भारतीय पनि छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ। तीमध्ये तीन जनामा फेरि संक्रमण देखिएको छ। यसअघि पनि कोसी अस्तपालमै उपचाररत ६ जना संक्रमित निको भएका थिए।

संक्रमित व्यक्ति निको हुन २४ घण्टाभित्र दुई वटा नतिजा नेगेटिभ आउनुपर्छ। उदयपुरमा मात्रै २८ जना संक्रमित देखिएका थिए। तीमध्ये १५ जना निको भएका छन्। थप १३ जना अस्पतालमै छन्। उनीहरूसँगै झापाका दुई जना र भोजपुरका एक जना संक्रमित पनि कोसी अस्पतालमै छन्।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ७ : ४८ बजे