कोरोनाको संक्रमणको महामारीसँगै अमेरिकी अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । ट्रम्पले भने आगामी वर्ष अमेरिकी अर्थव्यवस्था राम्रो स्थितिमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘आगामी वर्ष सबैभन्दा राम्रो वर्ष हुने छ किनभने बजारमा माग अत्यधिक हुने छ ।’
ह्वाइट हाउसकै कर्मचारीहरु पनि कोरोनो संक्रमित पाइएको सन्दर्भमा ट्रम्पले भने, ‘एक जनामा पोजेटिभ देखिएको छ । आश्चर्य त यो छ कि एक दिन अगाडि नेगेटिभ पाइएको थियो । यो लुकेर बसेको दुश्मन हो । हामी चनाखो हुनुपर्छ ।’
यसअघि गत बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको थियो । त्यसको तीन दिनपछि उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमितको सम्पर्कमा आएपछि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको ह्वाइट हाउस टास्क फोर्सका मुख्य तीन अधिकारीहरु क्वारेन्टाइनमा छन् ।
कोरोना संक्रमणको जोखिम महसुस गरेपछि ह्वाइट हाउसका अन्य कर्मचारीहरुले पनि मास्क प्रयोग गर्न सुरु गरेका छन् । अमेरिकी मिडियाहरुले सार्वजनिक गरेको एउटा तस्वीरमा ह्वाइट हाउसका कर्मचारीहरूले मास्क लगाएको देखिएको छ ।