जेनेभा (एजेन्सी) । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४७ लाख २२ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९५ हजार ६०० जना नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ३६० जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ८२९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख ५१ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ४६६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २१८ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९० हजार ११३ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १५३, स्पेनमा १०४ र फ्रान्समा ९६ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १५ हजार ६३३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८१६ जनाको ज्यान गएको छ ।