काठमाडौं । सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्धार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपालीको फिर्ता र उनीहरूको व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरेको हाे ।
परराष्ट्र मन्त्रालयले भारतबाट करिब ३ लाख र तेस्रो मुलुकबाट ३ लाख गरी ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरेको छ । यद्यपि सीसीएमसीको अनुमानमा भने तेस्रो मुलुकबाट झन्डै १० लाख नेपाली स्वदेश फर्किनेछन् ।
सरकारले पारित गरेको कार्यविधिअनुसार कुवेतमा अवैधानिक रूपमा बसेर आममाफी पाएका करिब ३ हजार र यूएईमा रहेका २८ गर्भवतीसहितका नागरिक उद्धारको पहिलो सूचीमा रहेका छन् ।
नेपाल आइसकेपछि उनीहरूलाई काठमाडौं, धुलिखेललगायतका होटलमा क्वारेन्टाइनमा राख्ने र पीसीआर परीक्षण गरेपछि मात्रै सम्बन्धित स्थानीय निकायमा पठाउने कार्यविधि सरकारको छ । यसरी तेस्रो मुलुकबाट आउने नागरिकको आर्थिक अवस्था हेरिकन उनीहरूलाई पूरै सहुलियत दिने, अलिअलि सहुलियत दिने या सहुलियत नै दिन नपर्ने गरी वर्गीकरण गरिएको छ ।
कतिपयको खर्च उनीहरू फर्किने देश र काम गर्ने कम्पनीले नै गर्ने प्रतिबद्धता जनाएकाले नेपाललाई थोरै मात्रामा मात्रै आर्थिक भार पर्न सक्ने आकलन सरकारले गरेको छ ।
तर भारतबाट फर्किने नागरिकको हकमा भने उनीहरूलाई बढीमा दुई दिन नाकामा राख्ने र गाडी चढाएर सम्बन्धित स्थानीय तहमै पठाउने तयारी सरकारको छ ।