काठमाडौं । शुक्रबार नेपालका विभिन्न स्थानमा सरकारको विरोधमा मौन प्रदर्शन भएका छन् । मंगलबार र बिहीबार राजधानीमा भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि शुक्रबार माैन प्रदर्शन भएकाे हाे । सरकारले कोरोनाको पीसीआर परीक्षण नबढाएको, भएका खर्चहरुको विवरण सार्वजनिक नगरेको लगायतका विषयमा युवाहरुले गरेका प्रदर्शनमाथि प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।
राजधानी काठमाडाैं, बुटवल, हेटाैडा, काभ्रे, पाल्पा, नेपालगन्ज, धनगढी लगायत देशका अधिकांश सहरमा युवाहरू स्वतसफूर्त रूपमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा सहभागी भएका थिए ।
पछिल्लो समय देशैभरी सुरु भएको सरकारविरोधी प्रदर्शनलाई तीन राजनीतिक दल जनता समाजवादी, साझा पार्टी, विवेकशीलले समर्थन जनाएका छन् । यी तीनै दलले विज्ञप्ती प्रकाशित गर्दै यी आन्दोलनलाई सरकारको असफलताले उठेको आवाजको संज्ञा दिएका छन् ।
कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै सरकारको असक्षमता र भ्रष्टाचारविरुद्ध उठेका आवाजका रुपमा उनीहरुले आन्दोलनलाई चित्रण गरेका छन् ।
‘ओली सरकारको असफलताविरुद्ध व्यापक जनप्रदर्शनहरु भइरहेका छन् । सरकारले जनताका आवाजलाई सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा सो कार्यको घोर भत्सर्ना गर्छौं,’ जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दमन बन्द गरि जनताका न्यायोचित मागको तुरुन्त सम्बोधन गर्न पनि जसपाले माग गरेको छ ।
कोरोनासँग जुध्न पर्याप्त समय भएपनि सरकारले फोहोरी राजनीतिक खेल तथा आफ्ना असक्षमता र भ्रष्टाचार छोप्न झन्डै तीन महिना लकडाउनमा समय व्यतित गरेको आरोप साझा पार्टीले लगाएको छ ।
साझाले सम्पूर्ण नेपालीको आवाजलाई बेवास्ता गरेर सरकारले अझ धम्कीको भाषामा जरिवाना र जेलको चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि दमनको रणनीति अख्तियार गर्नु खेदजनक भएको पनि बताएको छ । साझाले वर्तमान संकटले विविध क्षेत्रमा पारेको तात्कालिक र दीर्घकालिक असरहरूसँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न पनि माग गरेको छ ।
विवेकशील नेपाली पार्टीकी उपाध्यक्ष अजीता राईले एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको गैर-जिम्मेवारपूर्ण रवैया, असक्षमता र भ्रष्टाचारविरुद्ध आम नागरिकको आक्रोश तथा प्रश्न सडक प्रदर्शनमा देखिएको बताएकी छन् ।