न्युयोर्क । जनसम्पर्क समिति अमेरिकाले नेपाली महाबाणिज्य दुताबासमार्फत नेपालका प्रधानमन्त्री केपी शर्मा ओलिलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिका अध्यक्ष तथा नेपाली कंग्रेसको आमान्त्रित केन्द्रिय सदस्य आनन्द विष्टको नेतृत्वमा गएको टोलीले न्युयोर्कस्थित महाबाणिज्यदुत पुष्पराज भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा कोभिड १९ को महामारी रोकथाम, नियन्त्रणका साथै यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारलाई आग्रह गरिएको छ ।
‘अमेरिकामा मात्र कोरोना महामारीको कारण १८ जना नेपालीले ज्यान गुमाउनु परेको र प्रवासी भूमिमा विभिन्न खाले समस्याले अहिले एकैपटक हामी नेपालीहरुलाई पीडित बनाएको छ । कोरोनाको कारण विदेशमा आम नेपालीले भोग्नुपरेको यस्तो गम्भीर समस्या र चुनौतीमा विदेशस्थित नेपाल सरकारको प्रतिनिधित्व गर्ने नेपाली राजदूतावास र महावाणिज्य दूतावास बेखबर हुँदा प्रवासी नेपालीहरुले आफुहरु राज्यविहीन र सरकारविहीन भएको महसुस गर्नुपरेको छ’ ज्ञापनपत्रमा भनिएको छ, ‘रेमिट्यान्स चल्ने, आर्थिक सहयोग चल्ने तर समस्यामा परेका आफुहरुलाई सहयोग गर्ने सरकारी निकाय बेखबर भएर पीडा भोग्नु परेको तथ्यप्रति प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
समितिले हजारौं नेपाली विदेशी भूमिमा अलपत्र परेको अवस्थातर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार गरी विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जोडदार माग समेत गरेको छ ।
समितिले बुझाएको ज्ञापनपत्र: