९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

प्रचण्ड र नेपालले फेरी मागे ओलीको राजीनामा



काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालले अर्का पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन फेरी आग्रह गरेका छन् ।

बिहीबार पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न बसेको ओली, प्रचण्ड र नेपालबीचको छलफलमा फेरी राजीनामा माग गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच छलफल भएको थियो ।

यसअघि स्थायी समितिको बैठकमा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन प्रचण्ड र नेपालसहित उनीहरु पक्षधरका नेताहरुले माग गरेपछि विवाद चुलिएको थियो ।

भारतले अतिक्रमण गरेको भूभाग समेटेर नक्सा सार्वजनिक गरेपछि भारती चिढिएको बेला प्रचण्ड र नेपाल पक्षले ओलीलाई दुवै पदबाट हटाउने तयारी गरेपछि पार्टी विभाजनको संघारमा पुगेको थियो ।

तर सहमति खोज्ने भन्दै स्थायी समितिको बैठक स्थागित गरेर छलफल चलिरहेपनि निकास भने निस्किएको छैन । ओलीले आफुले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा नदिने बरु पार्टी अध्यक्षका रुपमा प्रचण्डलाई अधिकारहरु व्याख्या गरेर कार्यकारी अध्यक्ष मान्ने अडान लिंदै आएका छन् ।

पछिल्लो केही दिनदेखि प्रचण्डले आफु अधिकार सम्पन्न कार्यकारी अध्यक्ष हुन तयार रहेको संकेत दिएपनि बिहीबारको बैठकमा पुन प्रधानमन्त्रीको राजीनामा माग गरेको हो । प्रचण्ड–नेपाल समुहले प्रचण्डलाई प्रधानमन्त्री बनाउने यसअघि बताइसकेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ४ : ५७ बजे