१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

देशभरका शिवालयमा भक्तजनको भीड



काठमाडौँ । साउनको पहिलो सोमबार बिहानै देखि देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथ परिसरमा पनि भक्तजनको घुइचो रह्यो । तर कोरोना संक्रमणको डरले लागु गरिएको लकडाउनका कारण पशुपतिनाथको मन्दिर नखुलेपछि भक्तजनहरुले बाहिरबाटै दशर्न गरे ।

असार १ गतेदेखि बन्दाबन्दी खुकुलो बनाइएसँगै पशुपति क्षेत्रमा भक्तजनको भीड बढेपनि ढोका भने खोलेको छैन । साउन हिन्दू महिलाहरुको बिशेष महिना रहेको र साउनको सोमबार महादेवको ब्रत बस्ने भएकोले पनि पशुपति नाथलगायतका शिवालयहरुमा भीड लाषेको हो ।

हिन्दु महिलाहरुले आफ्नो श्रीमान्को दीर्घायुको कामना गर्दै साउन महिनाभरी हरियो चुरा पोते लगाउने र प्रत्येक सोमबार ब्रत बसेर महादेवको आराधना गर्ने गर्दछन् ।

धेरै वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार व्रत बसेर देवाधिदेव महादेवको पूजाआराधना गर्छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरिएको बताए ।

परम्परानुसार कुनै कुलविशेषले चान्द्रमासअनुसारका श्रावण महिनामा साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उहाँले सुनाउनुभयो । यस वर्ष साउन ५, १२, १९ र २६ गते गरी चार सोमबार परेका छन् । नयाँ व्रत पाँच सोमबार परेको वर्षदेखि शुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने अध्यक्ष गौतमले जानकारी दिनुभयो । शास्त्रीय मान्यतानुसार चार सोमबार परेको वर्षदेखि पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : ०९ बजे