१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

विदेशका कोरोना सङ्क्रमित ९३ प्रतिशत नेपाली निको भए



काठमाडौं । विश्वका बिभिन्न देशमा रहेका कोरोनाको संक्रमित ९३ प्रतिशत नेपाली निको भएका छन् । आवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार ३६ मुलुकमा रहेका कूल ३१ हजार १५० सङ्क्रमित नेपालीमध्ये २९ हजार २४३ जना निको भएका छन् ।

शनिबार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या १६१ पुगेको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार यस हप्ता संयुक्त अधिराज्यमा थप एक जनाको निधन भएको हो ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस साता त्यहाँ सङ्क्रमण दर केही बढेको सङ्घले जनाएको छ । यसैगरी संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यस साता सङ्क्रमण बढेको छ ।

समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शनसमेत तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  २ : ३० बजे